पाल्पाका दुई ठुला अस्पताल स्वास्थ्य बिमा बोर्डको सुचिबाट आउट

बाेलीखबर   २०८०-०५-०८

पाल्पा । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले पाल्पाका लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पताल सहित देशभरका २६ वटा अस्पताललाई स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाको सुचीबाट हटाएकाे छ ।

२०८० साल भदौ ८ गते स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौंले जारी गरेको सूचना अनुसार उक्त जानकारी गराईएकाे हाे।पाल्पामा युनाइटेड मिसन अस्पतालले आफुले पाउनुपर्ने स्वास्थ्य बिमा बापतको बक्यौता रकम समयमा भुक्तानी नगरेको भन्दै गत साउन २१ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरेको थियोे ।

युनाइटेड मिसन अस्पतालको उक्त निर्णय पस्चात पाल्पाका जनप्रतिनिधि र विभिन्न राजनीतिक दलले अस्पतालले पाउनुपर्ने बक्यौता रकम तत्काल भुक्तानी गर्न र स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन सहजीकरण गर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै अन्तत स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ ।

स्वास्थ्य बिमा बोर्डले सम्झौता मिति समाप्त भई पुन नवीकरण नगरेका, सम्झाैता मिति अगाबै सेवा स्थगित गरेका र लामो समयसम्म सम्झौता नवीकरण नगरेका अस्पताललाई स्वास्थ्य बिमा सेवा प्रदायक सस्थाको सुचीबाट हटाएकाे हो ।

२०८० साल साउन ३२ गतेको बोर्डको बैठकले देशभरका २६ वटा अस्पताललाई स्वास्थ्य सेवा प्रदायक संस्थाको सुचीबाट हटाउने निर्णय गरेको थियो ।