आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

बाेलीखबर   २० भाद्र २०८०, बुधबार १२:१५

पाल्पा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । साथै देशका विभिन्न कृष्ण मन्दिरहरुमा मेला लाग्ने गर्दछ ।

पाल्पाको रम्भा देवी, पवित्र धार्मिक स्थल सीताकुण्ड, बेझाँडको राधाकृष्ण मन्दिरमा पुजापाठको लागि भक्तजनहरुको उपस्थिति रहने गर्दछ । सीताकुण्डमा रहेको कुण्डमा स्नान गर्नेहरुको भिड लाग्ने गर्दछ ।

यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।