पाल्पा । रामपुर नगरपालिकाले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्ने भएको छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजश्व संकलन गरिरहेको वडा कार्यालयबाट अब नगरबासीले मालपोतको राजश्व तिर्ने सेवा पाउने भएका छन् ।
नगरपालिकाले आगामी मंसिर महिना देखि नगरका प्रत्यक वडा कार्यालय बाटै मालपोतको राजश्व संकलन गर्ने भएको हो । सोमबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । जनताको सेवा सहजताका लागि अब प्रत्यक वडा कार्यालयबाट मालपोतको राजश्व तिर्ने सुविधा दिईने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । थोरै राजश्व तिर्नका लागि पनि धेरै समय खर्चेर नगरपालिकाको कार्यालयमा आउन पर्दा जनतालाई सास्ती भएको भन्दै छिटो सेवाका लागि वडा कार्यालय बाटै सेवा दिने निर्णय गरेको नगर प्रमुख थापाले बताए ।
४०-५० रुपैयाँ मालपोतको राजश्व बुझाउन पनि नगरपालिकाको कार्यालयमा आउनु पर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर वडा कार्यालयहरुबाटै छिटो र सहज रुपमा सेवा प्रदान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए ।


