पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेमा केन्द्रिय प्रशारण लाईनबाट पहिलो पटक बिजुली बलेको छ ।
साविक ज्यामिरेकाे वडा नं. २ ज्यामिरे, माेटेखरक, वडा नं. ३ अधमारा, सिन्दुरे वडा नं. ९ सिमलडाँडा र माेटेखरकमा केन्द्रिय प्रशारण लाईनबाट बिजुली बलेको हाे ।
सामुदायिक विद्युतका लागि बर्सेनि रकम बुझाउँदै आएतापनी लामो समयपछि गाउँमा केन्द्रिय प्रशारण लाईनकाे बिजुली आइपुग्दा स्थानियबासीहरु खुसी भएका छन् ।
४५ घरपरिवार रहेको उक्त गाउँमा बिजुली पुर्याउन स्थानीय नागरिकको सहयोग रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले बताए । अझै पनि गाउँपालिकाका सबै क्षेत्रमा सुविधायुक्त बिजुली पुर्याउन नसकिएको भन्दै सारूले निस्दीको बेभोके,रोल्लाबास,मदनपुर लगायतका टोलमा पोल गाड्ने र तार तान्ने कार्यले तीव्रता पाएको बताए ।
अब गाउँमा बिजुली बत्ती आएपछि उज्यालो सङ्गै विद्यार्थीहरूलाई पढ्न,रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने वडा अध्यक्ष मुक्त बहादुर पाटाले बताए ।
यस अघि सामुदायिक बिदुत प्रशारण लाइनबाट साविक ज्यामिरेकाे वडा नं. १ काे चारघरे,घुल्लीखरक, वडा नं. ४ काे पाेखरीछाप, वडा न ५ काे हुवास र दार्सिङबासमा बिजुली बलिसकेकाे अध्यक्ष सारूले बताए ।