पाल्पा । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ ।
हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।
हरिबोधिनी एकादशीलाई यस क्षेत्रमा धार्मिक उत्सवको रुपमा मनाउने भएकाले नगर कार्यपालिकाको निर्णय अनुसार मंसिर ७ गते विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाकाले जनाएकाे छ ।
रामपुर नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिईएको छ ।
ठूलो एकादशीको रुपमा लिईने हरिबोधिनी एकादशीको अवसरमा कालीनदी किनार अन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, स्याउली बजार लगाएतका विभिन्न स्थानमा मेला भर्न तथा स्नानका लागि भक्तजनहरु पुग्ने गर्दछन् ।


