पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गाउँको उत्पादनलाई ब्राण्डिङ्ग तथा बजारीकरण गर्नुपर्ने बताउनु भएकाे छ । उत्पादनलार्इ कसरी प्रभावकारी बनाउन सकिन्छ साथै बजार ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने तर्फ प्रदेश सरकार केन्द्रित रहेको जानकारी दिनु भएको हो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चाैधरीले गाउँबाटै रोजगार सृजना गर्ने कार्यमा प्रदेश सरकार लागि परेको छ । नेपालीमा स्थानीय उत्पादन भन्दा पनि आयातित सामानको प्रयोग बढ्दै गैरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । “पहिले दाल चामल लगाएत नेपालमा जे उत्पादन भएको छ त्यही खान्थ्यौ । अहिलेको आफ्नो सामान फाल्ने र अन्य देशबाट आएको सामाने खाने चलन बढ्दो छ ।”
कोदोको रक्सी ब्राण्डिङ्ग पाल्पाबाटै सुरु गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । पाल्पाको ढाका, करुवा, अम्रिसो, सुन्तला, अकबरे खुर्सानी लगाएतका बस्तुको ब्राण्डिङ्ग र बजारीकरण कसरी गर्न सकिन्छ भन्नेमा लागि रहेको बताउनुभयो । साथै मगरी संस्कृतिलाई कसरी पर्यटनसंग जोड्ने भन्ने तर्फ ध्यान केन्द्रित रहेको बताउनुभयो । गाउँमै रोजगार सृजना गर्नका लागि क्वीक सर्भेको काम भैरहेको र केही समय पश्चात विज्ञ सदस्यहरुको टोलीले अध्ययन गर्ने जानकारी दिनुभयो ।
कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको निरीक्षण लगतै भएको पत्रकार भेटघाट कार्यक्रम नेपाल प्रेस युनियन पाल्पाका उपाध्यक्ष दान बहादु हिस्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन प्रेस युनियन पाल्पाका सहसचिव इमान सिं रानाले गर्नु भएको हो ।


