पाल्पा । पूर्वखाेला गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । स-सानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर मार्फत घरदैलोमा सेवा प्रदान गरेको हो ।
सेवा लिनका लागि धेरै खर्च र बढी समय लगाएर गाउँपालिकाको केन्द्रसम्म आउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले वडास्तरमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिइएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताउनुभयो । स्थानीयलाई सहज सेवा प्रवाहका लागि गाउँकार्यपालिकाको निर्णयअनुसार एकीकृत सेवालाई वडास्तरसम्म विस्तार गरिएको उहाँले बताउनुभयो ।
एकीकृत घुम्ती शिविर अन्तर्गत तीन वटा वडामा शिविर सञ्चालन भई सकेकाे र अन्य वडामा सञ्चालन भई रहेकाे पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । घुम्ती शिविरमार्फत वडा तथा पालिकास्तरीय योजना सम्झौता,उपभोक्ता समितिको बैंक खाता खाेल्ने,व्यवसाय/फर्म नविकरण,दर्ता गर्ने,कृषि/पशुपालन परामर्श सेवा,स्वास्थ्य सेवा तर्फ डाक्टरद्वारा बिरामी जाँच,नि:शुल्क औषधि वितरण,परिवार नियाेजनकाे IUCD/IMPLANT सेवा,VIA शिविरसम्बन्धी सेवासमेत प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडा कार्यलय,स्वास्थ्य चाैकिबाट घुम्ती सेवा प्रदान गरिएको छ ।
शिविरमा स्वास्थ्य सेवा तर्फका सम्पूर्ण सेवा बिरामी जाँच,नि:शुल्क औषधि वितरण, विशेषज्ञ डाक्टर सहित विशेषगरी महिलामा आउने पाठेघरकाे क्यान्सर परिक्षण,उमेर पुगेका महिलाहरूमा पाठेघर खस्ने समस्याकाे उपचार,परिवार नियाेजन र विधार्थीकाे आँखा उपचार सेवा प्रदान गरेकाे गाउँपालिकाका स्वास्थ्य संयाेजक माेहन ढकालले बताउनुभयो । उहाँले बिरामी चेकजाँचकाे क्रममा जटिल खालको बिरामी भए पालिकाले नि:शुल्क रिफर गर्ने व्यवस्था गरेकाे बताउनुभयो ।
गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको स्थानीयबासी फुलमाया बर्मेलीले बताउनुभयो । उहाँले शिविरमार्फत वडामा सेवा पाउँदा खर्च र समयको बचत हुनाका साथै सहज भएको बताउनुभयो ।
शिविरमार्फत वडा नम्बर ५ मा याेजना सम्झौता र खाता सञ्चालन २६,बिरामी संख्या ५६,VIA चेकजाँच संख्या ३०,परिवार नियाेजन संख्या ३, आँखा चेकजाँच संख्या ६१४,व्यवसाय नविकरण/दर्ता संख्या २८ र अपांग परिचयपत्र वितरण (ख) संख्या १ जना रहेको गाउँपालिकाले जनाएको छ ।