निस्दी गौरवको आयोजना ‘केम खाम्चा मार्ग’ स्तरोन्नति कार्यको शिलन्यास

बोलीखबर   ८ पुष २०८०, आईतवार ०५:१७

पाल्पा । निस्दी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको केम खाम्चा मार्ग स्तरोन्नति आयोजनाको शिलान्यास गरिएको छ । कालीगण्डकी करिडोर अन्तर्गत वडा नं. १ बाकामलाङ्गको खुट्टे देखि वडा नं. ७ ज्यामिरेको होङ्गसी चोक सम्मको सडक खण्ड स्तरोन्नति तथा ग्रभेल गर्ने कार्यको शुक्रबार देखि थालनी गरिएको हो ।

वडा नं. १ बाकामलाङ्गको खुट्टेमा कार्यक्रम गरी आयोजनाको शिलन्यास गरिएको थियो । निस्दी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष याम बहादुर रानाको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रम निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको प्रमुख आतिथ्यतामा भएको हो । गाउँपालिकाको लगानीमा सञ्चालन भएको आयोजनाको शिल्यान गर्दै प्रमुख अतिथी सारुले पालिका सम्म जनतालाई आउन जान समस्या भएकाले ५ नं. वडा बाहेक पालिकाका वटा वडालाई छुने केम खाम्चा मार्गलाई स्तरोन्नति गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले हिउँद वर्षा सडकलाई सञ्चालन गरी नमुनाको रुपमा प्रस्तुत गर्न यसै वर्ष बाट स्तरोन्नतिको कार्य थालनी गरिएको बताउनुभयो । उहाँले सडक स्तरोन्नति संगै वडा नं. १ मा बाँकी रहेको विद्युतीकरणको बाँकी कार्य गर्नका लागि पालिकाले ताकेता गरिरहेको जानकारी दिनुभयो । निस्दी गाउँपालिकाका उपप्रमुख तीरन कुमारी श्रेष्ठले योजनालाई समय मै सम्पन्न गर्नका लागि सबैले साथ सहयोग दिन आग्रह गर्नुभयो ।

निस्दी गाउँपालिका १ का निवर्तमान वडा अध्यक्ष एवं समाजसेवी पूर्ण बहादुर खाँणले तत्कालीन गाविसहरु बाट सडकको ट्रयाक निर्माण गर्न योगदान दिनु भएका व्यक्तित्वहरुको स्मरण गर्दै पालिका भित्रका सरोकारवालाहरु समन्वय सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । नेकपा एमाले निस्दी गाउँपालिका इन्चार्ज दमन सिं पाटाले पालिकाको गौरवको आयोजना भएकाले सञ्चालनको क्रममा स्थानीय स्तर देखिने समस्याहरुको समाधान गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले गुणस्तर र परिमाणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका प्रतिनिधि जगत बहादुर सिंजाली र नेकपा माओवादी केन्द निस्दी गाउँ संगठन कमिटी अध्यक्ष रामप्रसाद खत्रीले आयोजना सम्पन्न गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले गाउँपालिकाको आफ्नै स्रोत बाट सञ्चालन भएको यो ठूलो आयोजना रहेको बताउनुभयो । आयोजना अन्तर्गत केम खाच मार्गमा प्रदेश सरकारको योजना बाहेकको ४३ किलो मिटर मध्ये ३५ देखि ४० किमिमा सडक फराकिलने बनाउने कार्य १२ देखि १४ किमी ग्रावेल गर्ने कार्य हुने जानकारी दिनुभयो । साथै केही खण्डमा नाली निर्माण, मेसिनरी वाल, गेभिन भर्ने, ह्युम पाईप राख्ने लगाएतका कार्य हुनेछन् ।

निर्माणको जिम्मा पाएको महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रालि बर्दाघाटका डाईरेक्टर किसान आचार्यले सबै पक्ष बाट साथ र सहयोग भएमा सम्पन्न गर्ने मितिको १ वर्ष अगावै सडक हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो । निर्माणको ठेक्का पाएको महेश इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रालि बर्दाघाटले आयोजना २०८२ कार्तिक १२ गते भित्र सम्पन्न गर्ने गरी २०८० साउन १३ गते भ्याट सहित १५ करोड ६४ लाख ६९ हजार ८ सय ३९ मा सम्झौता गरेको थियो । गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन योजना अधिकृत अर्जुन खनालको सञ्चालनमा भएको हो ।