निस्दी आवाजद्वारा आगलागी पीडित परिवारलाई राहत सामाग्री प्रदान

धनबहादुर ठाडा   १० पुष २०८०, मंगलवार ०९:०५

पाल्पा । निस्दी आवाज युवा सञ्जालले निस्दी गाउँपालिका वडा नम्बर -३, झिरुबास, क्याङरुङको आगलागी पीडित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । गएको शनिबार भएको आगलागी पीडित श्याम बहादुर पल्लीको परिवारलाई राहत प्रदान गरेको हो।

निस्दी आवाज युवा सञ्जालका प्रतिनिधिहरु पल्लीको घरमा पुगेर तत्कालको लागि अत्यावश्यक खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा सहित ३० हजार बराबरको सामग्री प्रदान गरेको सञ्जालका प्रतिनिधि मिन सोमैले बताउनुभएको छ । राहत सामग्री झिरुबासका वडा सदस्य याम प्रसाद झेंडीको उपस्थितिमा हस्तान्तरण गरेको हो । निस्दी आवाजले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट पीडित परिवारलाई सहयोगका लागि अपिल गरेको थियो । सोही अनुसार देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले पठाएको रकम मार्फत सामाग्री खरिद गरी प्रदान गरेको हो । यसैबीच निस्दी गाउँपालिकाको कार्यालयले पनि पल्लीको परिवारलाई केहि राहत सामग्री प्रदान गरेको वडा सदस्य झेंडीले बताउनुभएको छ ।

राहत सामग्री सहयोग गर्नुहुने सबैलाई पल्लीको परिवारले धन्यवाद दिएका छन । आगलागीबाट पल्लीको घरगोठ जलेर पुर्ण रूपमा नष्ट भएको थियो । घरमा लागेको आगोमा जलेर पल्लीको ९ महिनाकी नातिनी दिप्सना पल्लीको मृत्यु भएको थियो ।