पाल्पा । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा शुक्रबार बिहान आगजनी गरेका हुन् ।
घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो।
आन्दोलित युवाहरूले शुक्रबार मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । मन्त्री ज्वाला नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत हुन् । पार्टी कार्यालयबाट मन्त्रालय जाने क्रममा उनीहरूले मन्त्रीको टोयोटा ल्यान्ड क्रुजर गाडीमा आगजनी गरेको मन्त्रालयका एक कर्मचारीले बताए ।
ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।
सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो । तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।
ग्वार्कोस्थित इपीएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।