पाल्पा । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत आज (शुक्रबार) पाल्पाको रामपुर आउने भएको छ ।
पाल्पा रामपुरको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा तथा रजत महोत्सव समापन समारोहमा अर्थमन्त्री महत आउन लागेकाे हो ।
गत शुक्रबारदेखि सेवा केन्द्र स्तरीय साधारण सभा गरेको सहकारीले पुष २० गते शुक्रबार अर्थमन्त्री महतको उपस्थितिमा बार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह मनाउदैछ । स्थापनाको २५ औं बर्ष पुगेको अबसरमा हुने रजत महोत्सबमा अर्थमन्त्री महतले सहकारीको कार्यालय परिषरमा निर्मित रजत स्तम्भ अनाबरण गर्ने र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अन्धकार मुक्ति बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले जानकारी दिनुभयो ।
आर्थिक मन्दीले देश नै सिथिल भएको बेला गण्डकीबेशीमा अर्थमन्त्रीको आगमन प्रभावकारी हुने अध्यक्ष देवकोटाले बताउनुभयो ।
२०५५ सालमा २८ जना व्यक्तिबाट बचत गरेर शुरु गरेको सहकारी अहिले स्थापित मात्र नभई प्रदेशमा नै उत्कृष्ट रहेको छ । पाल्पा जिल्लाभर सेवा क्षेत्र रहेको सहकारीमा हाल १० हजार ५ सय ४७ जना शेयर सदस्य छन् । सहकारीको केन्द्रिय कार्यालय रामपुर ७ सहित विभिन्न सेवा केन्द्रबाट सेवा दिदै आएको छ ।
साथै अर्थमन्त्री डा. महत संग रामपुर नगरपालिकाको सहयोगमा रामपुर उद्योग वाणिज्य संघ र कालीगण्डकी फाउण्डेशन नेपालको आयोजनामा “कालीगण्डकी बेशीको विकास र संभावना बिषयक अन्तरक्रिया” को आयोजना गरिएको छ ।