देशले परिवर्तन खोजेको छ: सभापति लामिछाने

बाेलीखबर   २०८०-०९-२२

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तन खोजि रहेको बताउनु भएकाे छ ।  नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव हुने बताउनुभएको हाे ।

शनिवार पाल्पाको रामपुर नगरपालिकामा भएको खुला सभालाई सम्बोधन गर्नुहुँदै पूर्वगृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले जनताको मुद्दालाई शिरमा राखेर हिडेको भन्दै जनताको आशा र भरोसाको दियो कहिल्यै निभ्न नदिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जतिसुकै मुद्दा लागोस् । व्यक्तिगत मुद्दा लड्दै गरुला, जित्दै गरुला, हारे पनि केही छैन नेपाली जनताको मुद्दाले हार्नु भएन ।’ लामिछानेले देशको परिवर्तन नीति फेरेर मात्र हुने बताउनु भयो ।

सहभागिहरु तर्फ इंकित गर्दे भन्नु भयो ‘कि लाउ माया एकतिर नलाउ दुई तिर…’ भन्दै दुवै पार्टी तिर माया नलगाउन अनुरोध समेत गर्नुभएको थियो । लामिछानेले भन्नु भयाे ‘मत परिवर्तन गरिएन भने देश परिवर्तन हुँदैन, आस्था राखेको पार्टीको झण्डा बोक्नुस, नभए म नयाँ झण्डा किनेर ल्याइदिउला, पार्टी नफेर्नस तर मत परिवर्तन गर्नुस् । भोट दिने बेलाको समय ३० मिनेट सोच्नुस् मत परिर्वतन गर्नुस देश परिर्वन हुनेछ ।’ देशमा बेथिति, भष्टचारको कैयौं फोहोरको डंगुर छन् त्यसलाई सफा गर्न डंगुर भित्र पस्नै पर्छ नत्र देश र जनताले विकास पाउदैन ।

देशको अर्थतन्त्र सकाएर देश टाट पल्टाएर युवालाई विदेशिन बाध्य पार्ने क्रम रोक्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको सभापति लामिछानेले बताउनुभयो । अबको राजनिति दुःख नेताले गरेर सुख जनताले भोग्ने बनाउने हो लामिछानेले भन्नुभयो– ‘जनताले धेरै दुःख गरेका छन् यो र त्यो वाद र तन्त्र ल्याएका छन्, व्यवस्था र वाद फेरेर मात्र होईन निति र थिति फेर्नु आवश्यक छ ’।

सो अवसरमा सोही पार्टीका सांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्दा, समस्यालाई संसद्मा उठाउँदै आइरहेको बताउनुभयो ।

केन्द्रिय सदस्य अर्जुन अधिकारीले गलत नेतृत्व कै कारण पुरानो परिपार्टीका कारण देशको अवस्था खस्किदै गएको भन्दै एकपटक अवसर दिन आग्रह गर्नुभयो । केन्द्रिय सदस्य इश्रामुल्ला मियाले सुशासन नहुँदासम्म भ्रष्ट्राचार भइरहने हुँदा त्यसबिरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिवद्ध भएर लागेको बताउनुभयो । प्रधानमन्त्री बन्ने दाउमा हिडिराख्ने देश बनाउन नलाग्ने ठुला नेताहरुले देश बिगारेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेलले लुम्बिनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति बाक्लिदै गएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका संयोजक विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको पाल्पा खुला सभा रामपुर नगर सभापति अर्जुन श्रेष्ठको स्वागत र पाल्पा उपसंयोजक सुमन गैरेको सञ्चालनमा भएको हो ।