पाल्पा । रामपुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ । नगरपालिकाले आईतबार आर्थिक वर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले पूर्वाधार निर्माणको काम अघि बढिरहेको र व्यवस्थापनका काम अझै बाँकी रहेको बताउनुभयो । उहाँले सबैको सहभागीता र सल्लाह सुझाव बाट मात्रै विकासले गतिलिने बताउनुभयो । नगरको विकासका जनताको सुझाव अपरिहार्य रहेको भन्दै थापाले सुझाव र सल्लाहहरु दिन आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकामा आर्थिक वर्ष २०८०र०८१ मा चालु तर्फ ५४ करोड ५१ लाख ३९ हजार ४ सय २३ विनियोजन भएकोमा हाल सम्म १२ करोड २३ लाख ७३ हजार ४ सय ४८ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ३३ लाख ६० हजार ५ सय ७७ रुपैयाँ विनियोजन भएकोमा १ करोड ८३ लाख १८ हजार ७ सय ६१ खर्च भएको जानकारी दिनुभयो । उहाँले कुल विनियोजित रकमको १९ दशमलव ३१ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । साथै उहाँले सञ्चालन हुने योजनाहरु मध्ये मंसिर सम्ममा ३ सय ७९ योजनामा २ सय ७३ वटा सम्झौता भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी मध्ये ३० जना भन्दा बढीले सुझाव सहितका जिज्ञासा राखेका थिए । सहभागीले योजना सम्झौता, लागत सहभागीता, घर नक्सा पास, गिट्टी बालुवाको टेण्डर तथा उत्खनन्, फोहोर मैला व्यवस्थापन, नगर भित्रका मेडिकलहरुको अनुगमन प्रभावकारी हुन नसकेको, घरहरुको अभिलेखिकरण, शिक्षा क्षेत्रको अवस्था, विद्यालय व्यवस्थापन समिति गठन, सार्वजनिक सेवा लगाएतका विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, लेखा शाखाका सीता न्यौपाने शिक्षा शाखा प्रमुख विकल काफ्ले, योजना अधिकृत विक्रम बस्नेत, महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियार, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे लगाएतले सम्बोधन गरेका थिए ।
नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रम रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको थियो । नगर प्रवक्ता कपिल बहादुर खाँणको स्वागत बाट सुरु भएको कार्यक्रमको सहजीकरण ष्ट्रसंञ्चार मिडिया प्रा.लि.को सहजीकरणमा भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।


