पाल्पा । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएकाे छ । पाल्पाकाे रामपुरमा हुने प्रतियाेगिता आगामी फागुन १८ देखि २४ गते सम्म सञ्चालन हुने प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारीका बारेमा आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रतियाेगिताकाे तयारी तिव्र रुपमा भैरहेको छ । प्रतियोगिताको तयारीका कार्य तिव्रगतिमा भैरहेको जिल्ला भलिबल संघ पाल्पाले जनाएको छ । जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले तयारीको ७० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिनुभयो । खेल मैदान निर्माण, प्याराफिट निर्माण भैरहेको साथै विभिन्न उपसमिति गठन गरी तयारीको कार्य तिव्ररुपमा भैरहेको जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब गरी ३ विभागिय टिम र सात प्रदेशका टिम गरी १० टिमले प्रतिस्पर्धा गर्ने बताउनुभयो । उहाँले प्रतियोगिताको सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाईने जानकारी दिनुभयो । दर्शकको सुविधाका लागि दुईतर्फ प्याराफिट निर्माण भएको र जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिकहरुलाई पनि सहज रुपमा खेलको अवलोकन गर्ने व्यवस्था गरिने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले देशको सबै भु–भागमा खेल्न सकिने भलिबल खेल प्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै प्रदेशमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न अन्य जिल्लाहरुले इच्छा देखाए पनि प्रदेशकै उदाउँदो शहर भएकाले रामपुरलाई चयन गरिएको जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा जनसंख्याको दरका हिसाबमा रामपुर नगरपालिका मात्र जनसंख्या नघटेको पालिका रहेको भन्दै सडक संजालमा जोडिएको र उदाउँदो शहरका रुपमा चिनिएको उहाँले बताउनुभयो । खेल मार्फत रामपुरलाई चिनाउन र पर्यटन प्रवद्र्धन गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङले भलिबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको लुम्बिनीलाई जगाउने गरी प्रतियोगिता हुन लागेको बताउनुभयो । पाल्पा ऐतिहासिक स्थल रहेकाले संघियता पश्चात प्रदेशमा पहिलो पटक हुन लागेको महिला भलिबल पाल्पामै सञ्चालन गर्न गैरहेको बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले केवल खेल गतिविधिमात्र नभई यो पर्यटन प्रवर्द्धन हुने गरी कार्यक्रम हुन लागेको बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले खेलाडीको स्वागत, सत्कार र बसाईलाई सहज बनाउन संघले होटल व्यवसायीहर संघ सहकार्य गरेर तयारी गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले पाल्पामा राष्ट्रिय स्तरको प्रतियोगिता हुनु गौरवको विषय रहेको भन्दै भव्यताका साथ सफल बनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । प्रतियोगिता जिल्ला भलिबल संघ पाल्पाको आयोजना, लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवद्र्धन तथा प्रयोजन, नेपाल भलिबल संघको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवद्र्धनमा हुन लागेको हो ।
रामतुलसी माविको खेल मैदानमा हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितय, तृतिय र सान्त्वना समुहले क्रमश नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ८४ लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ ।
जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रचारप्रसार उपसमितिका संयोजक दुर्गेश मल्लले गर्नु भएको हो ।