नेपाल विश्वविद्यालय स्थापनाका लागि रामपुरमा सम्भाव्यता अध्ययन तथा अन्तरक्रिया

  २०८३-०८-११

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा नेपाल विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थानको खोजीमा रहेको नेपाल विश्वविद्यालयको टोलीले कालीगण्डकी बेँसी क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, शिक्षाविद् तथा सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा सहभागी वक्ताहरूले कालीगण्डकी बेँसीलाई शैक्षिक हबका रूपमा विकास गर्न नेपाल विश्वविद्यालय स्थापना आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरसहित समग्र कालीगण्डकी क्षेत्रको शैक्षिक, सामाजिक तथा आर्थिक विकासका लागि विश्वविद्यालय स्थापना महत्त्वपूर्ण अवसर बन्न सक्ने उनीहरूको भनाइ थियो ।

पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले नेपाल विश्वविद्यालय स्थापना गर्न सके कालीगण्डकी क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । उहाँले यस क्षेत्रको भौगोलिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व विश्वविद्यालय स्थापनाका लागि उपयुक्त रहेको उल्लेख गर्नुभयो । विश्वविद्यालयलाई एउटा क्याम्पसमा मात्र सीमित नराखी विभिन्न संकाय र विषयका छुट्टाछुट्टै संरचनासहित विकास गर्न सकिने उहाँको धारणा थियो । कालीगण्डकी करिडोरलगायत सडक तथा पुल पूर्वाधार विस्तारले जिल्लाबीचको सम्पर्क सहज बन्दै गएकाले विश्वविद्यालय स्थापनाको सम्भावना थप बलियो बनेको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले कालीगण्डकी बेँसीमा शैक्षिक हब विकास गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै विश्वविद्यालय स्थापनाका क्रममा देखिने नीतिगत समस्या समाधानमा प्रदेशका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले नेपालको मौलिक सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशमा आधारित विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो । विदेशका शैक्षिक अनुभवबाट सिक्दै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयले राखेको उहाँको भनाइ थियो । समयअनुसार नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन भइरहेकाले शिक्षा प्रणाली पनि व्यावहारिक, अनुसन्धानमुखी र समयसापेक्ष हुनुपर्ने उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विश्वविद्यालय स्थापनाका विषयमा सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय समुदाय एकमत रहेको बताउनुभयो । उहाँले विश्वविद्यालय स्थापनाका लागि नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै यसले क्षेत्रको शैक्षिक तथा आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विश्वविद्यालय स्थापनालाई कालीगण्डकी बेँसी क्षेत्रकै गौरवको विषयका रूपमा उल्लेख गर्दै जग्गा प्राप्तिलगायत आवश्यक प्रक्रियामा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा र चापाकोट नगरपालिकाका उपप्रमुख ईशा रानाले पनि विश्वविद्यालय स्थापनाले समग्र क्षेत्रको शैक्षिक विकासमा सहयोग पुग्ने भन्दै स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले विश्वविद्यालय स्थापनाका लागि आवश्यक मापदण्ड, पूर्वाधार र सम्भाव्यताको स्पष्ट अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरूले विश्वविद्यालय स्थापनाको पहलमा आ–आफ्नो तर्फबाट सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै, शिक्षाविद्, विद्यालयका प्रधानाध्यापक, ज्येष्ठ नागरिक तथा अन्य सरोकारवालाहरूले यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र शैक्षिक महत्त्वलाई संरक्षण गर्दै नयाँ पुस्ताको आवश्यकता सम्बोधन गर्ने गरी विश्वविद्यालय सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । विश्वविद्यालयका सञ्चालक समिति सदस्य लालकृष्ण केसीले विश्वविद्यालयको अवधारणा प्रस्तुत गर्दै बदलिँदो विश्व परिवेश र श्रम बजारको मागअनुसार ज्ञान, सीप तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रकुमारी थपलिया पाण्डेले विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन, जग्गा व्यवस्थापन, पूर्वाधार विकास र प्रशासनिक प्रक्रियामा सबै पक्षको समन्वय आवश्यक रहेको बताउनुभयो । मंगलबार मात्रै रामपुर नगरपालिकामा सरुवा भई आउनुभएकी उहाँले सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँलाई स्वागतसमेत गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल विश्वविद्यालयलाई समयसापेक्ष, व्यावहारिक र नेपालको मौलिक परिवेशअनुकूल सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । विश्वविद्यालय स्थापनाका लागि उपयुक्त जग्गा, आवश्यक पूर्वाधार, सरकारी समन्वय तथा सरोकारवालाको सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनीहरूको धारणा थियो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको स्वागतबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नुभएको थियो ।