‘४२ औँ राष्ट्रिय मगर एकता दिवस’ रामपुरमा भब्यताका साथ सम्पन्न (तस्बिर सहित)

बाेलीखबर   २०८०-११-१६

पाल्पा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा भब्यताका साथ सम्पन्न भएकाे छ । मगर एकता दिवस संगै एकिकृत  मगर उत्थान समाज रामपुर पाल्पाको १६ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो ।

प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री धन बहादुर मास्कीले परम्परा, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो । हाम्रो इतिहास पहिचानको आधार भएको बताउँदै मन्त्री मास्कीले मगर समुदायको भाषा संस्कृति, भाषा हराउन खोजेको सन्दर्भमा मगर संघले अघि बढाउन प्रयास गरेको बताउनुभयो । पाल्पा बलिहाङ राजाले राज्य गर्नु भएको ऐतिहासिक स्थल रहेको र पाल्पा आफैमा मगर बाहुल्यता रहेको जिल्ला रहेको बताउनुभयो । उहाँले पाल्पामा मगर भाषालाई सम्पर्क भाषाको रुपमा पनि विकास गर्न सकिने बताउँदै प्रदेश सरकारमा फरक विषय बनाएर सो विषयको उठान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले पाल्पा जिल्ला आफैमा मगर समुदायको बाहुल्यता रहेको भन्दै आदिबासी जनजातिहरु थप परिस्कृत भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । एक आपसमा प्रतिस्पर्धा गर्नु भन्दा बौद्धिकताको लडाईमा खुल्ला प्रतिस्पर्धा गर्दै अघि बढ्न अनुरोध गर्नुभयो । गलत संस्कारलाई त्याग्दै पूर्वजले जोगाएको राम्रा संस्कृतिको संरक्षण गरी अघि बढ्न पर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले पश्चिमा संस्कारको प्रभाव बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै पुर्खाले सुरु गरेको सभ्य संस्कारको जगेर्ना गर्नु आवश्यक रहेको बताउनुभयो । मुलुकलाई समस्या परेका समयमा होस् या हरेक समयमा मगर समुदायले विशिष्ट योगदान दिएको बताउनुभयो । मगर समुदायलाई इमान्दारिता कै कारण विश्वले चिनेको स्मरण गराउँदै भुगोल र विचारले केही पछि परे पनि विचार भावनाले मगर समुदाय धेरै अघि रहेको उल्लेख गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मगर समुदायलाई आरक्षणमा मात्र सिमित नभै दक्षता र क्षमताको आधारमा अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले अरुको भर नपरि स्वःनिर्णय गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धन बहादुर राना, एकिकृत मगर उत्थान समाजका सल्लाहाकार एवं पूर्व अध्यक्ष क्याप्टेन रोमन बहादुर राना, नेकपा माओबादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

दिवस विशेष समारोहमा पूर्व पञ्चे बाजा सहित मगर संस्कृतिमा आधारित झाँकी, मौलिक भेषभुषामा सजिएका समाजका १७ वटा समुह सहित नेपाल मगर संग बाट १० वटै वडाको हजारौंको उपस्थितिमा बेझाँड बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा क्रियाशिल मगर समूह रामपुर ७ किसानबारीलाई उत्कृष्ट झाँकी बाट पुरस्कृत गरिएको छ । समारोहमा मगर संस्कृतिमा आधारित मौलिक सोरठी, झ्याउरे, सालैजो, कौरा, फागु प्रस्तुत गरिएको थियो ।

वार्षिक उत्सवको अवसरमा समूह भित्रका जेष्ठ नागरिक, तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा लोकदोहोरी गायिका सुमन थापा मगर र दिपु थापाको सांगितिक प्रस्तुति रहेको थियो ।

रामपुर युवाक्लवको परिसर सोमबार दर्शकहरुले भरिभराउ थियो । साथै विभिन्न समुहले मगरी खानाका परिकार तरुल, बटुक, सेलरोटी पनि प्रदर्शनी सहित विक्री गरेका थिए ।

एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा मगर एकता दिवस तथा बार्षिक उत्सव कार्यक्रम भएको थियो । एकिकृत मगर उत्थान समाजका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।