पाल्पा, जिल्लाको रामपुरमा आज देखि प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रयोजनमा हुन गैरहेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।
शुक्रबार देखि सञ्चालन हुन लागेको खेलको लागि विहिबार साँझ अायोजक, रेफ्री खेलाडी सहितको जनरल टेक्निकल मिटिङ्ग बसेको थियो । साथै सोही अवसरमा गोलाप्रथा द्वारा सहभागी टिमको समुह विभाजन गरिएको छ ।उट्घाटन खेल भोलि दिउँसो २:३० बजे घरेलु टोली लुम्बिनी प्रदेश र गण्डकी प्रदेश विच हुनेछ । त्यस अघि पहिलो खेल विहान ९ बजे देखि सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश विच हुनेछ । दोस्रो खेल विहान ११ बजे कर्णाली प्रदेश र वाग्मती प्रदेश विच हुने अन्तराष्ट्रिय भलिबल रेफ्री चन्द्र बदना राईले जानकारी गराउनु भयो ।
प्रतियोगितामा ३ विभागिय टिम र सात प्रदेशका टिम गरी १० टिमको सहभागीता रहने भनिए पनि अन्तमा विभागिय टिम बाट एपीएफ क्लवले मात्र सहभागिता जनाए पछि आठ टिमले प्रतिस्पर्धा गर्ने जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिनुभयो । सहभागी टिम संख्या घटे संगै फागुन २४ सम्म हुने भनिएको प्रतियोगिता फागुन २२ गते नै समापन हुने उहाँले बताउनुभयो ।
प्रतियोगितामा सहभागी टिम मध्ये समूह ए तर्फ एपीएफ क्लव, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेको छ । समूह वि तर्फ बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । बैठकमा बोल्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले रामपुर नगरपालिका संगै कालीगण्डकी बेशी क्षेत्रले उत्सवको रुपमा लिएको बताउनुभयो । खेलको माध्यम बाट रामपुरलाई चिनाउन तथा भावि पुस्तालाई खेलको महत्व बारे जानकारी दिन सहयोग गर्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले याहाँको पर्यटनमा समेत प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङले संघियता पछिको लुम्बिनीमा पहिलो पटक राष्ट्रिय महिला भलिबल हुन लागेको बताउनुभयो । जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङ्गको अध्यक्षतामा बसेको बैठक, लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङको स्वागत र जिल्ला भलिबल संघ पाल्पाका महासचिव कृष्ण आलेको सञ्चालनमा भएको हो ।
रामतुलसी नमुना माविको खेल मैदानमा हुने प्रतियोगिता जिल्ला भलिबल संघ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रयोजन, नेपाल भलिबल संघको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवर्द्धनमा हुन लागेको हो । रामतुलसी माविको खेल मैदानमा हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितय, तृतिय र सान्त्वना समुहले क्रमश नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।