लुम्बिनी कप महिला भलिबलको उपाधि एपीएफलाई

बोली खबर   २३ फाल्गुन २०८०, बुधबार २१:३६

—पाल्पाको रामपुरमा बुधबार सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ । 

रामपुरस्थित रामतुल्सी माविको खेलमैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ३–२ सेटले पराजित गरेर उपाधि पोल्टामा पार्न सफल भएको हो ।

उसले २५–१९, २५–१७ र १८–१६ को सेटमा पराजित गरेको आयोजक जिल्ला भलिबल संघ पाल्पाले जनाएको छ । पहिलो र दोस्रो सेट जितेको बागमतीले २५–१८, २५–१७ को सान्तवना जित निकाल्यो । बागमती क्लबकी रीमा कुंवर फाइनल खेलको प्लेयर अफ द म्याच भइन् ।

प्रथम भएसंगै एपीएफले नगद २ लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । उपबिजेतामा चित्त बुझाएको बागमतीले १ लाख ५० हजार नगदका साथै ट्रफी, मेडल, प्रमाणपत्र पायो । एपीएफले कोशी प्रदेशलाई र बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गरेर फाइनल प्रवेश गरेका हुन् । तेस्रोका लागि भएको खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएर लुम्बनीले सहज जित हासिल गरेको छ । उसले सोझो सेटमा कोशी प्रदेशलाई पराजित गरेको हो ।

उसले २५–१०, २५–१६ र २५–२२ को सेटमा पराजित गरेको छ । लुम्बिनीकी मीना सुनार खेलको प्लेयर अफ द म्याच भइन् । तेस्रो भएसंगै लुम्बिनीले नगद ७५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । सान्तवना पाएको कोशीले नगद ३५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । खेल लिक नक आउटको आधारमा खेलाइएको हो ।

खेल अवधिभर उत्कृष्ट स्पाइकर लुम्बिनीकी मीना सुनार, उत्कृष्ट सेटर बागमतीकी प्रगति नाथ, उत्कृष्ट डिफेन्डर बागमतीकै सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भइन् भने उत्कृष्ट कोच एपीएफकै महेश चौधरी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेले जानकारी दिए ।

बिजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगर, प्रदेशसभा सदस्य राजु श्रेष्ठ, लुम्बिनी खेलकुद परिसदका सदस्य सचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङ लगायतले नगद, ट्रफी, मेडल, प्रमाणपत्र बितरण गरे । प्रतियोगिताका लागि लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल संघ पाल्पाको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवर्द्धनमा भएको हो ।