पाल्पामै पहिलो पटक रामपुरमा स्केट जोन निर्माण सुरु

बोली खबर   ९ चैत्र २०८०, शुक्रबार ०४:१८

पाल्पा, पाल्पामै पहिलो पटक रामपुरमा स्केट जोन निर्माण सुरु भएको छ । बिहीवार एक कार्यक्रम बिच स्केट जोनको सिलन्यास भएको छ । नयाँ पुस्तामा लोकप्रिय बनेको स्केट खेलको विकास, खेलाडी उत्पादन र प्रशिक्षण दिने उद्देश्यले निजी लगानीमा रामपुर स्केट जोन निर्माण सुरु गरिएको हो ।

रामपुर नगरपालिका–५, बेझाँड राममन्दिर चोकमा करिब दुई रोपनी क्षेत्रफलको जग्गा लिजमा लिएर पूर्वाधार निर्माण सुरु गरिएको हो । रामपुर स्केट जोनले विहिबार पत्रकार सम्मेलन गरी जिल्ला मै पहिलो पटक स्केट जोन निर्माण कार्य सुरु गरिएको जनाएको छ । रामपुर स्केट जोनका सञ्चालक अशोक श्रेष्ठले बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय हुँदै गएको स्केट खेलको विकास संगै, पर्यटन तथा नगरको विकासमा टेवा दिने उद्देश्यका साथ इन्डोर स्केट जोन निर्माण कार्य थालनी गरिएको बताउनुभयो ।

उहाँले करिब ७० लाख लागतमा अन्तराष्ट्रिय मापदण्ड अनुसार इण्डोर स्केट जोन संगै कार्यालय भवन निर्माण हुने जानकारी दिनुभयो । जोनमा प्रशिक्षकहरु ल्याएर अभ्यास गराईने जानकारी दिदै राम्रा प्रतिभाको पहिचान गरी प्रतिस्पर्धामा जाने वातावरण सिर्जना गरिने बताउनुभयो । स्थानीय युवा व्यवसायीहरु चन्द्र कुमार श्रेष्ठ, सन्तोष पोखरेल लगाएत पाँच जनाको संयुक्त लगानीमा जोन निर्माणको कार्य सुरु भएको हो ।

विहिबार शिलन्यास भएको जोन आगामी बैशाख १ भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।