राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई रामपुरमा भव्य स्वागत

बाेलीखबर   २० चैत्र २०८०, मंगलवार ११:४५

पाल्पा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई पाल्पाको रामपुरमा भव्य स्वागत गरिएको छ । पुनको स्वागत संगै किताब किन्नको लागि स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो ।

मेची महाकाली महाअभियान अन्तर्गत रामपुर आउनु भएका पुनलाई सोमबार भव्य स्वागत गरीएको छ । वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक आफ्नै आत्मकथा पुस्तक विक्रीको क्रममा उहाँ आइतबार साँझ रामपुर आइपुग्नु भएको थियो ।

पुस्तक विक्री गर्नका लागि रामपुरको मुख्य बजार बेझाँड, विजयपुर, किसानबारी क्षेत्रमा पुग्नु भएका पुनलाई रामपुर नगरपालिकाले आफैले सय पुस्तक किनेर सहयोग गरेको छ । यहाँका क्याम्पस, विद्यालय, संघ, संस्था र समुहले किताव किन्ने र पुन सगँै फोटो खिच्नेको पनि घुइँचो थिए ।

रामपुर नगरपालिकाको कार्यालयमा पुग्नु भएका पुनलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ र रामपुर नगर प्रमुख रमण बहादुर थापाले पाल्पाली ढाकाटोपी र खादा ओढाएर स्वागत गर्नु भएको थियो । त्यस्तै शहीद बहुमुखी क्याम्पस, ज्योतिपुञ्ज युवा क्लव, रामपुर अस्पताल, उपकार मार्ट, भूपू सैनिक इङ्गलिस बोर्डिङ, आधारभूत मावि, रामपुर रामपुर अंग्रेजी आवासिय मावि, रामपुर बचत तथा ऋण सहकारी संस्था, अन्धकार मुक्ति वचत तथा ऋण सहकारी संस्था लगाएतका संघ संस्था संगै विभिन्न व्यक्तिहरुले स्वागत गरेका थिए ।

पुनलाई एकिकृत मगर उत्थान समाज रामपुर तथा नेपाल मगर संघ रामपुरले देविस्थानमा कार्यक्रम गरी संयुक्त रुपमा स्वागत सहित सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानााले गर्नु भएको थियो । रामपुर युवा क्लवले बेझाँड चोकमा कार्यक्रम गरी पुस्तक विक्रीको व्यवस्था गरेको थियो ।

रामपुर युवा क्लवका अध्यक्ष छम बहादुर दरैंको अध्यक्षतामा कार्यक्रम गरी पुस्तक विक्री गरेको हो । कार्यक्रमको सञ्चालन सल्लाहाकार लेखनाथ शर्मा मरासिनीले गर्नु भएको थियो । विभिन्न स्थानमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वीरगन्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याई कृषि आधुनिकीकरणका गर्नका लागि सामाग्री निर्माण गर्ने लक्ष्यका साथ अभियानमा हिडेको बताउनुभयो ।

२०४९ देखि बन्द भएको कारखाना सञ्चालनका लागि नेपाली जनताको सहभागीता हुने गरी खर्च जुटाउन पुस्तक लेखेर विक्रीको अभियानमा हिडेको बताउनुभयो । पुस्तक खर्च जुटाउनका लागि मात्र नभै युवाहरुको साचाई परिवर्तन संगै राष्ट्रको लागि योगदान दिन अभिप्रेरित गर्र्नु मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । अभियानमा सबैको साथ प्राप्त भएको बताउनुभयो । पुनले सोमबार काठमाडौ बाट हिडेको ८५ दिन भैसकेको भन्दै यस अवधिमा ७४ हजार पुस्तक विक्री भैसकेको बताउनुभयो ।

महाकाली बाट सुरु भएको यात्रा पाल्पामा आईपुगेको बताउँदै पूर्वका जिल्ला र ठूला शहरहरुमा पुस्तक विक्री बाँकी गर्न बाँकी नै रहेकाले तीन लाख प्रति पुस्तक विक्री हुनेमा विश्वस्त रहेको बताउनुभयो । रामपुरमा पुस्तक विक्रीको लागि पुन लाई रामपुर युवा क्लवले संयोजन गरेको थियो । सोमबार एकै दिन रामपुर बाट ५ सय ४२ प्रति पुस्तक विक्री भएको रामपुर युवा क्लवका अध्यक्ष छम बहादुर दरैले जानकारी दिनुभयो । उहाँ पुग्नु भएको स्थानमा रामपुरबासीको उत्साहजनक सहभागीता रहेको थियो ।