पाल्पा । निस्दी गाउँ पालिकाको मित्यालमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म पाल्पाको निस्दीमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको छ ।
निस्दी गाउँपालिका -४, मित्यालको झ्यालटुङमा हुने दोस्रो निस्दी कृृषि, पर्यटन, साँस्कृतिक तथा खेलकुद महोत्सव – २०८० को तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको लागि मन्च निर्माण, सचिवालय निर्माण, कम्पाउण्ड, पार्किङ , स्टल व्यवस्थापन लगायतका अन्य सबै तयारी पुरा भएको पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी गराइएको छ ।
पहिलो दिन निस्दी गाउँपालिकाको ७ वटै वडाका कौरा, ठूलोनाँच, घाटु, झ्याउरे, बालन, लगायतका झाँकी नाच प्रदर्शन हुने जनाएको छ । पहिलो दिनमा प्रथम निस्दी डान्स आइडलको अडिसन तथा यही चैत २९ गतेबाट अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने आयोजकले बताएको हो । महोत्सव मुल आयोजक समितिका संयोजक उमेश कुमार गाहाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, प्रशासकिय अधिकृत मदन अर्याल , योजना अधिकृत अर्जुन खनाल लगायतले निस्दीको गौरवको रुपमा आयोजना हुन लागेको महोत्सव सफल बनाउन सबैको सहयोग हुनुपर्ने बताउनुभएको छ ।
निस्दी खेलकुद विकास समितिको आयोजना तथा निस्दी गाउँपालिकाको संरक्षणमा हुने महोत्सवको अन्तिम तयारीबारे जानकारी गराइएको कार्यक्रमको सञ्चालन प्रचार प्रसार समितिका संयोजक होम राई मगरले गर्नुभएको हो । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसँगै स्थानीय उत्पादनको विक्री वितरण, निस्दीका पर्यटकिय स्थलको फोटो प्रर्दशनि गरिने आयोजकले जनाएको छ ।