निस्दीमा दोस्राे निस्दी कृृषि, पर्यटन, साँस्कृतिक तथा खेलकुद महोत्सव सुरू (तस्बिरमा)

बाेलीखबर   २६ चैत्र २०८०, सोमबार १८:१८

पाल्पा । निस्दी गाउँपालिकामा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी गाउँपालिका–४, झ्याल्टुङ्ग स्थित गाउँपालिकाको खेल मैदानमा महोत्सव सुरु भएको हो ।

सोमबार देखि आगामी बैशाख ३ गते सम्म ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ सुरु भएको मेलाको भव्यताका साथ समुद्घाटन गरिएको छ । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव मूल आयोजक समितिका संयोजक उमेश कुमार गाहाको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रम प्रतिनिधी सभा सदस्य नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

महोत्सवको उट्घाटन गर्दै प्रमख अतिथी आचार्यले निस्दी कृषि र पर्यटनको सम्भावना भएको पालिका रहेको बताउनुभयो । महोत्सवले स्थानीय संस्कृतिको प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण योगदान दिने बताउनुभयो । उहाँले निस्दीलाई यसै वर्ष उज्यालो पालिका घोषणा गर्नका लागि काम दु्रत गतिमा भैरहेको भन्दै याहाँको विकासमा स्थानीय तह संग सहकार्य गरेर लागि परेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रोजगार कै लागि युवाहरु विदेशिने क्रम बढ्दै गएको र गाउँहरु रित्तो हुँदै गैरहेको सन्दर्भमा विस्थापित बस्तीलाई स्थापित गर्नका कृषिको आधुनिकीकरण र पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । नेकपा एमाले पाल्पाका जिल्ला कमिटी उपाध्यक्ष देविलाल लामिछानेले अन्तरपालिका र अन्तर प्रदेश विचको सम्बन्ध थप बलियो बनाउन मेलाले सहयोग गर्ने बताउनुभयो । साथै उहाँले याहाँको स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

नेपाली कांग्रेस क्षेत्र नं। १ प्रदेश क का उपसभापति गोपाल अर्यालले निस्दीको पहिचानको लागि महोत्सव हुनु आफैमा गौरवको विषय रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य राम प्रसाद खत्रीले महोत्सव सफलताको लागि सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारीले महोत्सवले गाउँपालिकाको पहिचानमा थप योगदान दिने बताउनुभयो । डिभिजन वन कार्यालय पाल्पाका अधिकृत रामचन्द्र लामाले निस्दी जडीबुटी खेती संगै पर्यापर्यटनको लागि सम्भावना भएको पालिका रहेको बताउनुभयो ।

महोत्सव मुल आयोजक समितिका संयोजक उमेश कुमार गाहाले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा संस्कृतिको प्रवद्र्धनका लागि दोस्रो महोत्सव सञ्चालन गरिएको जानकारी दिनुभयो । मेलामा स्थानीय कृषि उपज तथा हस्तकलाका सामाग्रीको बिक्री वितरण, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, खुल्ला आमन्त्रित अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति, निस्दी डान्स आईडल, बालउद्यान र फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।

उट्घाटन समारोहको पहिलो दिन वरिष्ठ लोकदोहोरी गायक नारायण रायमाझीको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।मेला मूल आयोजक समितिका सहसंयोजक प्रदिप ज्ञावलीको स्वागत बाट सुरु भएको उट्घाटन कार्यक्रमको सञ्चालन निस्दी खेलकुद विकास समितिका सचिव होम राई मगर र धन बहादुर ठाडाले गर्नु भएको थियो । सांगितिक कार्यक्रमको सञ्चालन सञ्जय देवकोटाले गर्नु भएको थियो । कार्यक्रमको उट्घाटन पूर्व मित्याल रुक्से भञ्ज्याङ्ग बजार बाट मेला स्थल सम्म विभिन्न सांस्कृतिक झाँकी समुह, विद्यालय, वित्तिय संस्था तथा समुहको सहभागीतामा र्याली निकालिएको थियो ।

मेलामा मारुनी, कौरा, घाटु, झ्याउरे, सालैजो, भजन, पञ्चेबाजा लगाएतका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।