आज देखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

बाेलीखबर   १ बैशाख २०८१, शनिबार १५:०९

पाल्पा । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।