लागूऔषधसहित दुई युवक प्रहरी नियन्त्रणमा

बोली खबर   ७ बैशाख २०८१, शुक्रबार १९:१७

स्याङ्जा, लागूऔषधसहित दुई युवकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले पुतलीबजार नगरपालिका–११, सुम्रेखोला बाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जी रहेका छन् । क्षेत्री र दर्जीलाई शङ्कास्पद अवस्थामा भेटेपछि प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको साथबाट नुर्फिन १४ एम्पुल, फेनरागन १२ एम्पुल, डाईजेपाम १३ एम्पुल गरी ३९ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

युवकलाई शुक्रबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।