सहलकोटका आगलागी पीडित परिवारलाई निस्दी आवाजकाे सहयाेग

बाेलीखबर   १३ बैशाख २०८१, बिहीबार १८:०१

पाल्पा ।  निस्दी गाउँपालिका-२ सहलकोट पुरान्थरका आगलागी पीडित परिवारलाई निस्दी आवाज युवा सञ्जालले राहत सामाग्री प्रदान गरेको छ । मंगलबार दिउँसो भएको आगोलागी बाट पिडित बनेका गणेश वि.क. को परिवारलाई खाद्यान्न, भाँडाकुडा र ओढ्ने ओछ्याउने सामाग्री प्रदान गरेको हो ।

युवा सञ्जालका प्रतिनिधि बुधबार पिडित परिवारको घरमै पुगेर तत्कालको लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको हो । सञ्जालका प्रतिनिधिहरु मिन सोमै, लेखान्त सुनारी, प्रेमकान्छा राई, विर बहादुर दर्लामी, ज्ञानु सोमै र इमान सिं राना सहितको टोलीले निस्दी गाउँपालिकाका कार्यपालिका सदस्य खुमी सरा पुलामी, अंशुवर्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक पहल सिं सिंजाली, समाजसेवी एवं पत्रकार प्रेम बाकाबलको उपस्थितिमा सामाग्री हस्तान्तरण गरेको थियो । पीडित परिवारलाई खाद्यान्न, भाँडाकुँडा संगै ओढ्ने लुगा तथा झुल, सरसफाईका सामान र बालबालिकाको लागि स्टेशनरीको सामान प्रदान गरेको हो ।

फागु खेलेर संकलन गरेको रकम संगै सामाजसेवीहरुले प्रदान गरेको रकम मार्फत सामाग्री खरिद गरी राहत हस्तान्तरण गरिएको सञ्जालका प्रतिनिधि मिन सोमैले जानकारी दिनुभयो ।  अग्नि पीडित गणेश वि।क।ले सहयोगको लागि धन्यवाद दिनुभयो ।

निस्दी गाउँपालिकाका कार्यपालिका सदस्य खुमी सरा पुलामीले तत्कालको लागि वडाले त्रिपाल र खाद्यान्न प्रदान गरेको जानकारी दिनुभयो । थप राहत र सहयोगको लागि गाउँपालिकामा पहल भैरहेको उहाँले बताउनुभयो । अंशुवर्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक पहल सिं सिंजालीले गाउँमा अप्ठ्यारो परेको समयमा निस्दी आवाजले दिएको साथ प्रति धन्यवाद दिनुभयो । राहतलाई व्यवस्थित बनाउनुका साथै तत्कालको लागि बस्ने अस्थायी टहरा निर्माणका लागि स्थानीयले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो साढे १ बजे आगलागी हुँदा गणेश वि.क.को घर र गोठ संगै आरन घर जलेर नष्ट भएको थियो । आगोले घर भित्र रहेको अन्न, लत्ताकपडा र भाँडाकुडा सबै जलेको छ । त्यस्तै आगलागीले उहाँको दाइ लाल बहादुर वि.क.को घरमा समेत आंशिक क्षति भएको थियो ।