रामपुर नगरपालिका दिउँसो देखि भिषण आगोलागी

बोली खबर   १९ बैशाख २०८१, बुधबार २१:०९

पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ को समानसिङ, रेवती पोखरा र वडा नं. ५ को गैरागाउँ क्षेत्रमा बुधबार दिउँसो देखि भिषण आगोलागी भैरहेको छ । जंगलको आगो बस्तीमा पसेपछि आठ भन्दा बढी घर तथा गोठ पूर्ण रुपमा जलिसकेको छ ।

गैरागाउँको पाँच र समानसिङको तीन वटा घर गोठमा क्षति भैसकेको छ । गैरागाउँको सन्तमान श्रेष्ठ, राम प्रसाद श्रेष्ठ र धन प्रसाद श्रेष्ठको घर संगै गोठ पूर्ण रुपमा जलेको छ । त्यस्तै विष्णु कुमार श्रेष्ठ र श्याम कुमार श्रेष्ठको घर तथा गोठमा पनि क्षति गरेको छ । त्यस्तै सोही आगोले समानसिंङको माउ कुमारी श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठको घरगोठ र सूर्य प्रसाद श्रेष्ठको घर संगै कुखुरा फर्ममा जलेको स्थानीय विष्णु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै लक्ष्मी आधारभूत विद्यालय रेवती पोखराको भवन जोखिममा रहेको लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक नर बहादुर रानाले बताउनुभयो । डढेलो चारैतिर फैलिएकाले वडा नं. ४ को समानसिङ, छतिवन डाँडा, गिजिन डाँडा लगाएतका बस्ती जोखिममा रहेको छ । दिउँसो १२ बजे बाट लागेको आगो हावा चलेका कारण चारैतिरको जंगलमा छरिएकाले नियन्त्रण भन्दा बाहिर रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

नेपाली सेना, प्रहरी संगै स्थानीयहरु बस्ती जोगाउन जुटिरहेका छन् । आगो राम्चे सामुदायिक वन क्षेत्रमा अहिले भिषण आगोलागी भैरहेको छ । गाबुडाँडा सामुदायिक बन, देउराली डाँडा सामुदायिक वन क्षेमा फैलिरहेको छ ।