पाल्पा । निस्दी गाउँपालिका पाल्पामा बालबिबाह अन्त्यको लागि हाम्रो भुमिका विषयक वाकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा २४ वटा आधारभूत विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालको अध्यक्षतामा भएको प्रतियोगितामा प्रथम बालहित मावि सहलकोटकी भुमिका समाल, दृतीय सरस्वती मावि गल्धाका विवेक राना, तृतीय गौरीशंकर मावि मित्यालकी सृष्टि सुनारी र सान्त्वना अंशुवर्मा मावि सहलकोटकी अनुष्पा सिंजाली भएका छन ।
प्रतियोगितामा विजेतालाई गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले पुरस्कार वितरण गर्नुभएको छ । पुरस्कार वितरण गर्नुहुँदै अध्यक्ष सारुले निस्दीमा बालबिबाह न्यूनीकरणका लागि औपचारिकता भन्दा व्यावहारिक कार्यक्रमलाई जोड दिएको बताउनुभयो । उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बालबिबाह अन्त्यका लागि विद्यालयको महत्त्वपूर्ण भुमिका रहने बताउनुहुँदै विद्यालय र बालबालिकाको राम्रो सम्बन्ध हुनुपर्ने बताउनुभयो ।
अध्यक्षको आसनबाट बोल्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले निस्दीलाई आगामी तीनवर्ष भित्र बालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने तयारी गरेको बताउनुहुँदै शुन्य बालबिबाहको लागि सबै क्षेत्रबाट सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
पालिका बहुउद्देश्यीय सभाहल मित्यालमा भएको कार्यक्रममा ४ नम्बर वडा मित्यालका वडा अध्यक्ष सन्त वीर सुनारी, शिक्षा शाखा संयोजक नर बहादुर थापा, गौरीशंकर मावि मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले बालबिबाह अन्त्यका लागि आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बालकल्याण अधिकृत कुश्माखर पाण्डेले गर्नुभएको हो ।