रामपुर नगरपालिका वडा नं ४ ले वार्षिक नीति तथा योजना तर्जुमा सम्पन्न

बोली खबर   २०८१-०२-१०

पाल्पा,रामपुर नगरपालिका वडा नं ४ ले वार्षिक नीति तथा योजना तर्जुमा तथा विविध तालिम बुधवार सम्पन्न गरेको छ।
जेठ ५ गतेदेखि टोल विकास संस्थाका पदाधिकारीहरुका लागि अभिमुखीकरण, भाषण कला तथा माइन्युट लेखन तालिम सुरु गरेको हो ।
रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष रामबहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले विकास निर्माणमा टोल विकास संस्थाले सकृयतापूर्वक सहभागिता जनाउनुपर्ने हुन्छ । आफ्ना टोलका जिम्मेवारी पूरा गर्दै गर्दा लाभको अपेक्षा नगरिकन सेवाभाव दर्शाइ काम गर्नका लागि अनुरोध गर्नुभयो। टोल विकास संस्थाले राम्रा र प्रशंसनीय कार्य गरि अन्य ठाउँका टोल विकासहरुका लागि पनि प्रेरणा बनोस र यो वडाको टोल विकास संस्थाका कार्य अवलोकन गर्न आउने बनाउन सकियोस् भनी शुभकामना दिनुभयो ।
तालिमको सहजीकरण गर्नुभएका सहजकर्ता रामपुर नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत, रामपुर नगरपालिकाका प्रेस सल्लाहाकार दानबहादुर हिस्की, पत्रकार सुशीला रेग्मी र इमानसिं राना, पृथ्वी टेलिभिजनका प्रबन्धक कृष्ण पौडेललाई पाल्पाली करुवा र सम्मान पत्रसहित सम्मान गरिएकाे थियो।
रामपुर नगरपालिका वडा नं ४ का १२ वटा टोल विकास संस्थाहरुमध्ये आफ्ना टोलको राम्रा काम र गतिविधिले संगम टोल विकास संस्था उत्कृष्ट टोल विकास संस्थाकारुपमा सम्मानित भएको थियो । वडाका १२ वटा टोल विकास संस्थाहरुले वडाका केही भागका जङ्गलहरुमा लागेको आगलागिबाट पीडितलाई सहयोग रकम जुटाएर उक्त कार्यक्रममा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा सम्पुर्ण प्रशिक्षकहरुका तर्फबाट प्रशिक्षक तथा योजना शाखा प्रमुख बिक्रम बस्नेत ,नेपाली काङ्ग्रेस वडा उप- सभापति बिष्णु जिसी,राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सदस्य टेक बहादुर क्षेत्री,कालिका माध्यमिक विद्यालयका प्रअ मनिराज अधिकारी ,गोदाम चौतारी टोल विकास संस्थाका अध्यक्ष मोहन बहादुर थापा , रेवतीपोखरा टोल विकास संस्थाका अध्यक्ष बिमल श्रेष्ठ ,समाजसेवीहरु अनिता राना, सीता प्रधान , समिना खातुन लगायतले आ- आफ्ना भनाइ राख्नुभएको थियो ।