पाल्पामा प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ

बाेलीखबर   १६ श्रावण २०८१, बुधबार १२:५६

पाल्पा । स्थानीयलाई प्रलोभन देखाएर ठगी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । जिल्लाको तानसेन नगरपालिकाका विभिन्न स्थानमा पुगेर नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका –३ झुम्साका ६३ वर्षीय चुरामणी गाहा मगर, रुपन्देहीको सैनामैना नगरपालिका –८ का ४२ वर्षीय गुञ्जबहादुर मगर, रुपन्देहीकै कञ्जन गाउँपालिका– १ का ३३ वर्षीय लक्ष्मण कुमाल र रुपन्देही ओमसतिया गाउँपालिका –५ घर भई हाल बुटवल उपमहानगरपालिका लक्ष्मीनगरमा डेरा गरी बस्ने ५३ वर्षीय गिरी बहादुर थापा भुजेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।

गत वर्ष भदौ २६ मा तानसेन नगरपालिका –४ होलादीस्थित मनकामना होटेल नजिकै तिनाउ गाउँपालिका –५ भोक्तछापकी ५७ वर्षीय बमिसरा रानालाई नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी रानाले लगाएको १ तोला सुनको कुण्डल रिङ झिकेर भागेका थिए । यस्तै गत चैत १८ मा तानसेन– ६ लहरेपिपलमा बगनासकाली गाउँपालिका– ९ चापपानीकी ६३ वर्षीय डोल कुमारी थापाले लगाएको १ तोला १२ लालको सुनको रिङ कुण्डल झिकेर उनीहरु भागेका थिए । सोही समूहले गत जेठ २७ मा तानसेन –३ प्रगतीनगर टोलमा रिब्दीकोट गाउँपालिका–७ की ५७ वर्षीय भुमी कुमारी गाहाले लगाएको १ तोलाको सुनको रिङ कुण्डल झिकेर भागेको थियो ।

पिडितहरुको निवेदनको आधारमा प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको थियो । प्रहरीले ठगी गर्ने व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा गत सोमबार तानसेनको टुँडिखेलस्थित साझा फेन्सी पसल नजिकैबाटै पक्राउ गरेको हो । प्रहरीले बाटोमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा फेला पारी उनीहरुलाई रोकेरसोधपुछ गरी शरीर खानतलासी गर्ने क्रममा चुरामणी गाहा मगरले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा सुनको डल्ला भनी झुक्याएको जस्तो वस्तु फेला पारेको थियो ।

प्रहरीले उनीहरुको साथबाट पहेलो रंगको चारपाटे धातु एक थान, निवेदन साथ पेश गरेको पहेलो रंगको चारपाटे धातु ३ थान बरामद गरिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।