पाल्पा । रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको छ । रामपुर नगरपालिकाको न्यायीक समितिमा छलफलका लागि विभिन्न विवादका ८७ वटा उजुरी दर्ता भएका हुन् ।
नगरपालिका भित्र विभिन्न विषयमा परेका विवाद छलफल र समाधानका लागि उजुरी दर्ता भएको हो । जग्गा विववाद, सम्बन्ध विच्छेद, महिला बालबालिका यौन तथा घरेलु हिंसा, पारिवारिक विवाद,व्यक्तिवादी, ज्याला नदिएको, कुलो,बाटो,साँध सिमा ,खानेपानी सम्बन्धि विवादका उजुरी न्यायीक समितिमा छलफलका लागि दर्ता भएका छन् । जसमध्ये सबै भन्दा बढि जग्गा विवादका उजुरी दर्ता भएको पाइएको छ ।
यो आर्थिक वर्षमा २५ वटा जग्गा विवाद, व्यक्तिवादी उजुरी २३ वटा, सम्बन्ध विच्छेद सम्मको अवस्था पुगेका उजुरी १२ वटा, कूलो बाटो ,साँध सिमाना,खानेपानीका ११ वटा उजुरी, पारिवारिक विवादका ७ वटा, महिला बालबालिका यौन तथा घरेलु हिंसाका ५ वटा , ज्याला नदिएको ४ वटा उजुरी दर्ता भएको न्यायीक समितिका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । दर्ता भएका उजुरी मध्ये ५५ वटा उजुरीको मेलमिलाप गरिएको,२ वटा उजुरी फिर्ता लिएको,३ वटा उजुरी जिल्ला अदालतबाट फैसला भई टुंगिएको गरी ६० वटा उजुरी टुंगिएको छ भने १७ वटा उजुरी प्रक्रियामा रहेको संयोजक थापाले बताउनु भएको छ ।
यस्तै ९ वटा उजुरी छलफल हुन बाँकी रहेको र सम्बन्ध विच्छेद सम्मको अवस्थाको एउटा उजुरी सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । न्यायीक समितिमा दर्ता भएका विवादका उजुरीलाई छलफलको माध्यमबाट दुवै पक्षलाई मेलमिलाप गरि पठाईएको उहाँले बताउनुभयो । “नगर स्तरीय न्यायीक समिति र वडामा रहेका मेलमिलापकर्ता मार्फत विभिन्न विवादका दुवै पक्षलाई मेलमिलाप गराईएको छ” न्यायीक समिति संयोजक थापाले भन्नुभयो “दुवै पक्ष सन्तुष्ट हुने किसिमले धेरै विवादको समाधन गरेका छौँ ।” छलफलको माध्यमबाट विवाद समाधानका लागि दुवै पक्ष सहमति भए पनि कार्यान्वयनमा समस्या रहेको थापाले बताउनुभयो । मेलमिलाप हुन्छ तर केही उजुरीको कार्यान्वयनमा समस्या छ यसको कारवाही प्रक्रिया थाह नहुँदा अन्यौलमा छौँ उहाँले भन्नुभयो ।
न्यायीक समितिमा दर्ता भएका उजुरी मध्ये १० वटा उजुरी वडा र वडामा रहेका मेलमिलापकर्ता मार्फत मेलमिलाप गरिएको रामपुर नगरपालिकाले जनाएको छ । नगरपालिकामा भएका विभिन्न विवादलाई स्थानीयस्तरमै समाधान गर्नका लागि १० वटै वडामा मेलमिलाप केन्द्र रहेको छ । साथै विगतमा १९ जना मेलमिलापकर्ता रहेकोमा आर्थिक वर्ष २०८०र०८१ मा १८ जना मेलमिलापकर्ता थप गरी ३७ जना मेलमिलापकर्ता तोकिएको छ भने मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि ४८ घण्टे आधारभूत तालिम समेत प्रदान गरेको थियो । गाँउ तथा टोलमा भएका विवादलाई छलफलको माध्यमबाट मेलमिलाप गराउनका लागि वडामा भएका मेलमिलाप केन्द्रलाई व्यवस्थित र प्रभावकारी बनाउदै लगिने नगरपालिकाले जनाएको छ ।