पाल्पा । नेवाः देय दबू रामपुर नगर समितिले नयाँ वर्ष नेपाल संवत ११४५ को अवसरमा र्याली निकालेर शुभकामना आदानप्रदान गरेको छ । नेपाल संवत ११४५ को अवसरमा रामपुर नगरपालिका ५, बेझाँड बजारमा र्याली निकालेर शुभकामना आदानप्रदान गरि मनाएकाे हो ।
शनिबार विहान रामपुरको मुख्य बजार बेझाँड बजार चोकबाट सुरु भएको र्याली बेझाँड तल्लो चोक, सहकारी पथ, स्कुलरोड हुँदै पुन बेझाँड बजार चोकमा आएर सकिएको थियो । नेपाल भाषामा शुभकामना सहितको नारा लगाउँदै, ढोलक र झ्याली सहित र्याली निकालिएको थियो । र्याली पश्चात नेपाल सम्वतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाको तस्विरमा माल्यार्पण संगै शुभकामना आदनप्रदान गरिएको थियो ।
नेवाः देय दबू रामपुर नगर समितिका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । शुभकामना आदन प्रदान कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले नेपाली समाजमा शंखधर साख्वाले दिनु भएको योगदान सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले आफ्नै देशको नाम बाट सुरुवात भएको नेपाल सम्वत्को आफ्नै महत्व रहेको उल्लेख गर्दै हाम्रो भाषा र संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनु पर्नेमा जोड दिनुभयो । नेपाल संवतलाई पछिल्लो समय सरकारी कार्यालयमा पनि प्रयोगमा ल्याएको बताउनुभयो ।
नेपाल सरकारका पूर्व सहसचिव भिम प्रसाद श्रेष्ठले नेपाल संवतलाई नेवा समुदायको लागि मात्र नभै सबैको साझा भाषाको रुपमा लिनु पर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई समुदायमा रहेको कला र संस्कृति संग जोड्नु आवश्यक रहेको भन्दै भाषा लिपीको बारेमा जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । रामपुर नेवाः समाजका अध्यक्ष एवं नेवाः देय दबू रामपुर नगर समितिका सल्लाहाकार बाबुराम श्रेष्ठले नेपालीको आफ्नै संवत नेपाल संवतलाई हामी सबैले गौरवको रुपमा लिनु पर्ने बताउनुभयो । उहाँले भाषा संस्कृतिको प्रवर्द्धनका लागि नेवास् संस्कृतिक संग्राहालय निर्माणको काम अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा नेवाः देय दबू रामपुरका पदाधिकारी, वडाका पदाधिकारी, सल्लाहाकार, रामपुर नेवास् समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।