पाल्पा । पूर्वखोला गाउँपालिका–१ सिलुवामा आयोजित आठौं मण्डली कप भलिबल प्रतियोगिताको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । महिलातर्फ भने स्याङ्जाको वालिङले उपाधि लगेको छ ।
पुरुषतर्फ फाइनलमा निस्दी खेलकुद विकास समितिले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । निस्दीले मणिमुकुन्दलाई पहिलो सेटमा २७–२५, दोस्रो सेटमा मणिमुकुन्दले निस्दीलाई ३१–२९, तेस्रो सेटमा निस्दीले २५–१९ मा मणिमुकुन्दलाई पछि पार्न सफल भयो । चौथो सेटमा मणिमुकुन्दले निस्दीलाई २५–१७ मा पराजित गरेको थियो भने अन्तिम सेटमा निस्दीले मणिमुकुन्दलाई १५–८ मा पछि पार्दै मण्डली कपको उपाधि जितेको हो ।
उपाधि जितेसँगै निस्दी खेलकुद विकास समितिले १ लाख ५० हजार नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी हात पारेको आयोजक मण्डली स्पोर्ट्स क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले जानकारी दिए ।
रुपन्देहीको मणिमुकुन्दले उपविजेता भएसँगै नगद १ लाखका साथै प्रमाणपत्र, मेडल र ट्रफी हात पारेको छ । रामपुर नगरपालिका–१०, को गेझा बर्दलेको टिमले तेस्रो भएर नगद ७० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी हात पारेको छ । तेस्रोका लागि भएको प्रतिष्पर्धामा बर्दले भलिबल क्लबले जिल्ला भलिबल संघ पाल्पालाई २५–१०, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।
उपाधि विजेता तथा उपविजेता समूहलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष भीम ओली, क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले पुरस्कार, ट्रफी, प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।
प्रतियोगिता अवधिमा उत्कृष्ट खेलाडी निस्दी खेलकुद विकास समितिका उमेश सेन्चुरी भएका थिए । वेष्ट स्पाईकर मणिमुकुन्दका हिमाल सुनारी, वेष्ट डिफेन्सर मणिमुकुन्दका संगम श्रीस, वेष्ट सेटर मणिमुकुन्दकै दिपेश कुँवर, वेष्ट सर्भर निस्दी खेलकुद विकास समितिका सरोज बर्देवा, वेष्ट ब्लकर निस्दीका हिमाल सुनारी भएका छन् ।
उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाईकर, वेष्ट डिफेन्सर, वेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट ब्लकर २र२ हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिएको क्लबका सचिव कृष्णप्रसाद पंगेनीले जनाएको छ ।
महिलातर्फको स्पर्धामा वालिङ भलिबल क्लब स्याङ्जाले निस्दी खेलकुद विकास समिति पाल्पालाई पराजित गर्दै पहिलो भएको छ । स्टेप भलिबल क्लब रामपुर प्रतियोगितामा तेस्रो भएको आयोजक मण्डली स्पोर्ट्स क्लबले जनाएको छ । महिलातर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगदसहित मेडल, प्रमाणपत्र र ट्रफी पाएका छन् ।
जिल्लाकै सर्वाधिक राशिको आठौं मण्डली कपमा पुरुषतर्फ ६ र महिलातर्फ ४ टिमको सहभागिता रहेको थियो । कात्तिक २१ देखि २४ गतेसम्म भएको क्लबस्तरीय भलिबल प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीको सहभागिता रहेको थियो ।
पुरुषतर्फ निस्दी खेलकुद विकास समिति पाल्पा, मणिमुकुन्द भलिबल क्लब रुपन्देही, न्यू होराइजन स्पोर्ट्स क्लब बुटवल, जिल्ला भलिबल संघ पाल्पा, बर्दले भलिबल क्लब रामपुर पाल्पा, आयोजक मण्डली स्पोर्ट्स क्लबको सहभागिता थियो । महिलातर्फ निस्दी खेलकुद विकास समिति पाल्पा, रामपुर भलिबल क्लब पाल्पा, वालिङ भलिबल क्लब स्याङ्जा, एभरेष्ट भलिबल क्लब रुपन्देही, हिमालयन भलिबल संघ चितवनको सहभागिता रहेको थियो ।
महिलातर्फ विजेता हुनेले उत्कृष्ट खेलाडीलाई २ हजार, वेष्ट स्पाईकर, वेष्ट डिफेन्सर, वेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट ब्लकरलाई १ हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु मण्डली स्पोर्ट क्लबको खेल मैदान पूर्वखोला–१, सिलुवामा भएको थियो ।
प्रतियोगितामा स्थानीय कलासंस्कृतिको प्रस्तुति, स्थानीय कौडा नाच, राष्ट्रिय कलाकारहरुको प्रस्तुति देखाइएको थियो ।