पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

बाेलीखबर   ३ मंसिर २०८१, सोमबार ११:१३

पाल्पा । पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

उहाँको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेकाेछ ।

पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ।

ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो ।

मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए ।