रामपुरमा जनप्रतिनिधिसंग संवाद कार्यक्रम सहित आर्थिक सहयोग वितरण

बाेलीखबर   २१ मंसिर २०८१, शुक्रबार १४:४९

पाल्पा । रामपुर नगरपालिका वडा नं. १ मा जनप्रतिनिधि संग संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलवार वडा न. १ को टापुधाममा जनप्रतिनिध संवाद कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरबासीको प्राथमिकता र आवश्यकताको आधारमा योजना सञ्चालन तथा कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले नगरको समुन्नत विकास सहित समृद्ध नगर निर्माणका लागि नगरबासीको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर अगाडी बढेको बताउनुभयो ।

प्रमुख थापाले जनताको आवश्यकता र वस्तुस्थितिलाई अझ नजिकबाट नियालेर जनताको गुनासो र सुझाव लिनका लागि जनप्रतिनिधि संग संवाद कार्यक्रम गरिएको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरबासीको वास्तविक आवश्यकता र समस्याको पहिचान संगै समाधानका लागि प्रतिबद्ध भएर लागेको बताउँदै यो कार्यक्रमले जनता र जनप्रतिनिधि विचको दुरीलाई अझ बढी घटाउने बताउनुभयो । साथै सम्भावना बोकेका स्थानको गहन अध्ययन र पर्यटकिय क्षेत्रको प्रवर्द्धनका लागि मुख्य पर्यटकीय क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी र जनमुखी बनाउनका लागि नगरपालिकाले सबै वडामा जनप्रतिनिध संवाद कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं।१ का वडा अध्यक्ष एवं कपिल बहादुर खाँणले वडाको विकास निर्माणको अवस्था , वडामा रहेका समस्याको पहिचान गर्न र सुझाव लिई आगामी आर्थिक वर्षमा योजना बनाउन सघाउ पुगोस् भन्ने हेतुले यो कार्यक्रमको अवधारणा तयार पारिएको बताउनुभयो ।

धार्मिक क्षेत्रको रुपमा परिचित टापुधाममा भएको जनप्रतिनिधि संग संवाद कार्यक्रममा सहभागिहरुले योजना सम्झौता,टोल विकास संस्था दर्ता र सञ्चालनका लागि आवश्यक वजेट माग,विद्यालयका शिक्षक दरबन्दी ,भौतिक संरचनाको मर्मत संभार, कालिगण्डकी करिडोर सडक सुरक्षा,अपराधिक क्रियाकलाप नियन्त्रणका लागि पहल गर्न, सवारी साधन भाडादर कार्यान्वयनका लागि कडाई गर्नु पर्ने ,विकास निर्माणका योजना सञ्चालन गर्दा जोखिमको मूल्याङ्कन गरेर सञ्चालन गर्नु पर्ने लगाएतका सुझाव राखेका थिए ।

कार्यक्रमका अवसरमा विभिन्न विपद्मा परेका नागरिकलाई आर्थिक सहयोग वितरण गरिएको थियो । नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बाल कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित, प्रवक्ता एवं वडा नं. का अध्यक्ष कपिल बहादुर खाँण लगाएत वडा अध्यक्ष जनप्रतिनिधिहरुले संयुक्त रुपमा घर भत्किएका, विरामी भई उपचार गर्न आर्थिक अभाव भएका ३ जनालाई राहत स्वरुप ४७ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो ।

रामपुर नगरपालिका १ नं। वडा कार्यालयका वडा सचिव प्रेम पाठकले वडाको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा १० वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य सहित वडा भित्रका विद्यालयका प्रधानाध्यापक, विभिन्न टोल विकास संस्था, समूह लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । साथै मंगलबार नै यस आर्थिक वर्षमा वडामा सञ्चालन हुने विभिन्न योजनाको सम्झौता समेत गरिएको थियो ।