रामपुरमा माटो परीक्षण शिविर सम्पन्न 

बाेलीखबर   २१ मंसिर २०८१, शुक्रबार १५:१०

पाल्पा । विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न भएको छ । ‘माटोको सुधार- परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा भएको हो ।

कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीको अध्यक्षतामा भएको शिविर रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले माटो परीक्षण पश्चात आएको रिपोर्टको आधारमा उपचारको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रसायनिक मलको बढ्दो प्रयोगले माटो विग्रीएको कारणले बालीमा विभिन्न प्रकारका रोगको समस्या देखिएको बताउनुभयो ।

रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दुर्गा देवि भण्डारी गौतमले माटोमा देखिएको समस्या समाधान गरी उत्पादकत्व वृद्धिमा शिविरले महत्वपूर्ण टेवा दिने बताउनुभयो । कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको बताउनुभयो । पछिल्लो समय धेरै उत्पादन लिने लोभमा रसायनिक मल तथा विषादीको प्रयोग बढ्दै बोट विरुवाका लागि चाहिले तत्वहरु नष्ट हुँदै गैरहेको बताउँदै माटो उपचारका लागि समय मै परीक्षण आवश्यक रहेको बताउनुभयो ।

शिविरमा विहिबार एकै दिन रामपुर नगरपालिका भित्रका ४० स्थानको माटोको नमुना परीक्षण गरिएको थियो । माटो नमुना परीक्षणको क्रममा पि।एच।मान तटस्थ रहेको पाईएको कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाका नायव प्रविधिक सहायक रविन बुढाले बताउनुभयो । परीक्षण गरिएको अधिकांश नमुनामा खेतीको लागि आवश्यक नाईट्रोजनको मात्रा रहेको पाईए पनि फस्फोरस र पोटासको मात्रा कम देखिएको बताउनुभयो । कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले नगरपालिका भित्र बाट ८२ वटा नमुना संकलन गरिएकोमा बाँकी रहेको नमुनाको परीक्षण कृषि ज्ञानकेन्द्रको प्रयोशालामा हुने जानकारी दिनुभयो । शिविर शुभारम्भ कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले गर्नु भएको थियो ।