जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

बाेलीखबर   ११ पुष २०८१, बिहीबार ०९:५८

पाल्पा । जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम सोमवार रामपुरमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेको बताउनुभयो । उहाँले विश्व मै चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलताको कार्यका लागि गम्भीरताका साथ लाग्न आवश्यक रहेको बताउनुभयो । विकास संगै विनास निम्त्याई जलवायुमा ठुलो असर पुर्‍याएको भन्दै यसबाट नेपाल जस्तो देश बढी प्रभावित भएको उल्लेख गर्नुभयो । प्रकृतिको अधिक दोहन र कार्बन उत्सर्जनका कारण जलवायुमा आएको परिवर्तनले हरेक क्षेत्र र प्राकृतिक संरचनामा असर पुर्‍याएको बताउनुभयो । नगर प्रमुख थापाले जलवायु परिवर्तन उत्थानशिल कार्यका लागि हरेक स्थानीय तह र निकायले सोही अनुसारको नीति तथा कार्यक्रम एवं योजना बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख बाल कुमारी थापाले चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलाका लागि मानवीय व्यवहारमा परिवर्तन संगै सबै सचेत हुनु पर्ने आवश्यकता अ‍ौँल्याउनुभयो । उहाँले समयमै उत्थानशिल कार्य गर्न नसके मानव र पृथ्वीको भविष्य नै खतरामा पर्ने बताउनुभयो । गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भोजराज तिमिल्सिनाले जलवायु परिवर्तन र यसको उत्थाशिलता कार्यका लागि सोही तरिकाको योजना तय गरेर जानू पर्ने सुझाव दिनुभयो । देशभरका ७ सय ५३ वटा पालिका मध्ये १ सय ५१ वटा पालिका बढी प्रभावित हुने र त्यस मध्ये पाल्पाका ७ वटा पालिका पर्ने भएकाले पहिलो चरणमा अभिमुखिकरण कार्यक्रमको थालनी गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक सागर भण्डारीले जलवायु परिवर्तनको कारण , प्रभाव र असर ,गण्डकी जलाधार र परिवर्तनको जोखिम ,स्थानीय तह र जलवायु परिवर्तनको मुद्दा,उत्थानशिल कार्यका उपाय र प्रयास लगायतका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियोे । नगरपालिकाको सभाहलमा भएको कार्यक्रम गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भोजराज तिमिल्सिनाको अध्यक्षता नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता र गैरसरकारी संस्था महासंघ पाल्पाका सचिव ठाकुर पराजुलीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख ,सामुदायिक वन र सरोकारवालाहरुको सहभगीता रहेको थियोे ।