रामपुरमा गणेशमान स्मृति प्रतिष्ठान भवन समुद्घाटन ५२ लाख बढी स्थानीय सरकारको सहयोग

बोली खवर   १७ पुष २०८१, बुधबार १०:२६

पाल्पा, पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको समुद्घाटन गरिएको छ । भवनको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह समुद्घाटन गर्नु भएको हो  ।

मंगलबार भवन समुद्घाटन गर्नुहुँदै उहाँले लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नका लागि कांग्रेस चुनौतीको सामाना गर्न तप्पर हुनु पर्ने बताउनुभयो । चुनौतीलाई सामाना गर्न पार्टीलाई सक्षम, प्रभावकारी र व्यवस्थित रुपमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनु भएको थियो । उहाँले भन्नुभयो, “लामो संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्वद्र्धन गर्नका लागि नेपाली कांग्रेस पार्टी भित्र आउँदै गरेको चुनौतीलाई सामाना गर्न सक्ने सक्षम, प्रभावकारी र व्यवस्थित पार्टीको रुपमा अघि बढाउनु पर्ने चुनौति सामना गर्न हामी तप्पर हुनु पर्छ ।”

बेझाँड बजारमा निर्माण भएको पाँचतले भवन ७७ लाख ९३ हजार ४७८ रुपियाँको लागतमा सम्पन्न भएको गणेशमान स्मृति प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले जानकारी दिनुभयो । भवनको २०७० सालमा शिलन्यास भएको भवनको २०७१ देखि निर्माण सुरु भएको थियो । सुरुवातमा स्थानीय विकास मन्त्रालय बाट विनियोजित १० लाख रुपियाँ बाट भवन निर्माण सुरु भएको थियो । त्यस पश्चात जिल्ला विकास समिति पाल्पाको १० लाख, रामपुर नगरपालिका बाट विभिन्न समयमा विनियोजित ५२ लाख, अन्य दताहरुको सहयोग तथा घरभाडा बाट भवन निर्माण सम्पन्न भएको नेपाली कांग्रेस रामपुरले जनाएको छ ।

भवन समुद्घाटनको अवसरमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले पूर्व रामपुर गाविस अध्यक्ष रामप्रसाद भट्टराई, भवन निर्माण समितिका संयोजक क्याप्टेन बहादुर थापा मश्राङ्गीलाई सम्मान गरिएको थियो ।

नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । गणेशमान स्मृति प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रम सभापति भट्टराईको अध्यक्षतामा, उपसभापति ज्ञान प्रसाद भण्डारीको स्वागत र सचिव चिरञ्जीवी सिग्देलको सञ्चालनमा भएको हो ।