राना परिवारको ३१ लाख दान सँगै २ करोड दान संकलन

बोली खबर   २२ पुष २०८१, सोमबार ०९:२७

पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुर नगरपालिका–७ किसानबारीमा जारी महायज्ञमा एकै दिन ६३ लाख ०५ हजार भन्दा बढी दान संकलन भएको छ । शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढा बाट आउने विद्यार्थीको लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले गत पुस १६ देखि सुरु भएको महायज्ञमा आइतबार ६३ लाख पाँच हजार ५१९ रुपैयाँ दान संकलन भएको हो ।

आइतबारको दान संकलन संगै कथा प्रवचन सुरु भएको पाँचौ दिन सम्ममा दुई करोड दुई लाख छ हजार तीन सय २९ रुपैयाँ ७७ पैसा दान संकलन भएको महायज्ञ मूल आयोजक समितिको सचिवालयले जनाएको छ ।

महायज्ञमा आइतबार रामपुर नगरपालिका–७ छाहारापानी निबासी मान बहादुर राना र रामकुमारी रानाले ३१ लाख रुपैयाँ दान प्रदान गर्नु भएको थियो । नेता एवं समाजसेवी सन्दिप राना र भक्त बहादुर रानाको बुवा र आमाले छात्रबास निर्माणका लागि २१ लाख र विद्यार्थी कल्याणकारी कोषको लागि १० लाख गरी ३१ लाख रुपैयाँ दान गर्नु भएको हो ।

आइतबार नै रामपुर नगरपालिका–७, कठान निबासी भगवती भट्टराई उपाध्यायले १० लाख २१ हजार १११ रुपैयाँ बराबरको जग्गादान गर्नु भएको छ । रामपुर नगरपालिका ८ निवासी क्याम्पसका सहायक प्रध्यापक सुर्य प्रसाद घिमिरे र सरस्वती घिमिरेको परिवारले एक लाख ७ हजार ५६९ रुपैयाँ रकम दान गर्नु भएको छ । यज्ञमा रामपुर नगरपालिका वडा नं. ७ निवासी गिरि प्रसाद उपाध्यायले ५१ हजार १११, रामपुर नगरपालिका वडा नं. ७ निवासी खुमकान्त कंडेलले ५१ हजार १०१, रामपुर नगरपालिका वडा नं. ७ गैटार निवासी नायव सुवेदार धन बहादुर बरालीले ५१ हजार ५५५, रामपुर नगरपालिका वडा नं. ७ निवासी बसन्तराज पंगेनीले ५० हजार ५५५ र क्याम्पसका पूर्व विद्यार्थी एवं नेपाल सरकारका सहसचिव कृष्ण कुमारी श्रेष्ठ र जगत बानियाँले ५० हजार १११ रुपैयाँ दान गर्नु भएको छ ।

उहाँहरु संगै आइतबार ३ सय ३ जना विभिन्न संघ, संस्था, समुह र व्यक्तिहरुले दान गर्नु भएको मूल आयोजक समितिका उपाध्यक्ष एवं आर्थिक संकलन समितिका संयोजक सुकदेव पोखरेलले जानकारी दिनुभयो ।

साथै यज्ञमा धान दानमा पनि भक्तजनहरुको उत्साह देखिएको छ । गण्डकी वेशी क्षेत्रको विभिन्न ९६ स्थानमा रहेका धान संकलन केन्द्रहरु बाट धान दान आउने क्रम जारी रहेको छ । आइतबार हाल सम्म कै धेरै २ सय ११ मुरी ११ पाथी धान संकलन भएको छ । हाल सम्म ८ सय १९ मुरी ०७ पाथी धान संकलन भएको धान दान संकलन समितिका ऋषिराम रेग्मीले जानकारी दिनुभयो । धान दान गर्नुहने दाताहरुलाई पनि सम्मान गरिदै आएको छ ।

यस अघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आएपनि संस्कार र संस्कृति प्रवद्र्धनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले बताउनुभयो । महायज्ञमा दान संगै विभिन्न सम्मानका कार्यक्रम भैरहेको छ ।