पाल्पा, रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन सम्पन्न भएको छ । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित स्थानीय युवा परिषद् ऐन संशोधन गर्दै नगर सभा बिहीबार सकिएको हो ।
हिउँदे सभाले वडा तथा नगर स्तरीय ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको छ । सभामा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । नमस्ते पाल्पा होटलको सभाहलमा भएको सभामा नगर सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले प्रस्तुत गर्नु स्थानीय युवा परिषद् ऐन संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
नगर सभा सदस्यहरुले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले जनताको चाहाना अनुसार स्रोत साधनले भ्याए सम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीहरु जनतालाई सहज रुपमा सहज रुपमा सेवा प्रवाह गर्न कसरी सकिन्छ भन्ने ध्येयका साथ लागि रहेको बताउनुभयो । नगरपालिकाले संघ र प्रदेश संग समन्वय गर्दै लागि रहेको बताउनुभयो । उहाँले हल्लाको पछि नभै सेवामा प्रतिवद्ध भएर लाग्न अनुरोध गर्नुभयो ।
नगर उपप्रमुख बालकुमारी थापाले वडा स्तरीय र नगर स्तरी ४० वटा योजनाको दुई करोड एक लाख ६५ हजार बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिका १ का वडा अध्यक्ष एवं प्रवक्ता कपिल बहादुर खाँणले अब जनप्रतिनिधिहरुले गम्भीर रुपमा सोच्ने समय आएको बताउनुभयो । नगरबासीले के अनुभूति गरे भन्ने विषयमा समिक्षा गरी अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठक विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । जनतालाई कसरी हुन्छ सहज र सरल रुपमा सेवा प्रवाहको लागि प्रतिवद्धता जनाउनुभयो ।
रकमान्तर र शीर्षकान्तर प्रस्तावमा आफ्नो धारणा राख्दै वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले विनियोजित बजेट कार्यान्वयनमा विभिन्न बाधा र अड्चन आउँदा समस्या भएको बताउनुभयो । नगरपालिकाले विकास निर्माणका योजनालाई प्रभावित हुन नदिन कडाई गर्नु आवश्यक रहेको बताउनुभयो । शुन्य समयमा रामपुर ८ का वडा सदस्य दिनेश आचार्यले विद्युत पोल व्यवस्थित गर्न तथा खानेपानी व्यवस्थापनका लागि ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो । रामपुर–६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले कृषिमा लगानी बढाउनु आवश्यक रहेको बताउनुभएको थियो ।
सभामा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको आब्ह्वान पत्र बारे जानकारी गराउनु भएको थियो । यस्तै नगर सभाको अवसरमा राष्ट्रिय यू–१३ पुरुष फुटबलमा छनोट हुनु भएका खेलाडी विप्लप गुरुङ, पूर्व कर्माचारीलाई सम्मान गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट गरेको खेलाडी मध्येमा पर्न सफल गुरुङलाई नगरपालिकाले ५० हजार रुपियाँ रकम सहित सम्मान गरेको हो ।
नगरपालिकाले करारमा कार्यरत रही यस वर्ष उमेर हदका कारण विदा दिनु भएको कर्मचारी ईन्द्र बहादुर अर्याललाई समेत सम्मान गरेको थियो । नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत दुई लाख ९९ हजार १६० रुपियाँ ९८ पैसा सहित सम्मान गरेको हो । उहाँहरु दुवै जनालाई नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले चेक, सम्मान पत्र सहित दोसला र ढाका टोपी ओढाएर सम्मान गर्नु भएको थियो ।




