प्रधानमन्त्री ओली आज पाल्पा आउनुहुने

बाेलीखबर   ११ माघ २०८१, शुक्रबार १०:४१

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार पाल्पा आउनुहुने भएकोछ । पाल्पाका ३ वटा कार्यक्रममा सहभागी हुन पाल्पा आउन लाग्नु भएको हो ।

प्रधानमन्त्री ओली विहान १० बजे हेलिकप्टर मार्फत काठमाडौबाट बगनासकाली गाउँपालिका आउनुहुने कार्यक्रम छ । विहान ११ः१५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेर १२ः१५ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवल प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पाल्पाका सांसदहरू ठाकुर गैरे र नारायण आचार्य समेत कार्यक्रममा सहभागी हुनुहुनेछ।

१२ः३० बजे तिनाउ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबा सुरुङ्गमार्ग ब्रेक थ्रु गर्नुहुने कार्यक्रम छ । २ः०० बजे बुटवल गोरुसिङ्गे सडक शिलान्यास सभा जितगढीमा सहभागि हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली ३ः३० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलबाट हेलिकप्टर मार्फत काठमाण्डौ फर्कने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिद्धबाबा सुरुङमार्ग आयोजनालाई एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ड्रिम प्रोजेक्टको रूपमा अगाडि बढाउनु भएको थियो।

एक हजार १२६ मिटर लामो सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा सुरु गरेको काम ०८३ सालमा सम्पन्न हुने छ।

२०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्ने काम सुरू गरेको थियो। आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन्। भने मुख्य सुरूङ शुक्रवार प्रधानमन्त्रीको उपस्थितिमा ब्रेक थ्रु हुने छ।