सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको ‘ब्रेक थ्रु’

बोली खबर   १२ माघ २०८१, शनिबार ०४:४६

पाल्पा – सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको आज ‘ब्रेक थ्रु’ गरिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ् मार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । सो अवसरमा उहाँले सिद्धबाबा क्षेत्र भएर यात्रा गर्न सहज हुने विस्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो ।
प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवम् आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो ।
हालसम्म एक हजार एक हजार ८९ मिटर सुरुङ् खनिएको आयोजनाले जनाएको छ । कुल एक हजार १२६ मिटर सुरुङ् खन्नुपर्ने भएपनि एक हजार ८९ मिटरमै सुरुङ् जोडिएको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।
सुरुङ् मार्गको हालसम्म सुरुङ् मार्गको भौतिक प्रगति ४० प्रतिशत भएको छ । यस्तै वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । पहिलो बाइपास १५१ मिटर, दोस्रो १६१ र तेस्रो १३० मिटर लामा बाइपास टनेल छिचोलिएका छन् ।
पाँच वर्षभित्र सुरुङ् मार्गको काम सक्ने गरी वि.स. २०७८ फागुनमा चाइन स्टेट कन्ट्रक्सन एन्ड इन्जिनियरिङ् कर्पोरेसनले ठेक्का लिएको हो । उसले सात अर्व ३४ करोड २१ लाख रुपियाँमा सुरुङ् मार्ग बनाउने ठेक्का लिएको थियो । सबैको सहयोगमा सात महिनामै सुरुङ् छिचोलिएको निर्माण व्यवसायीका प्रतिनिधिले बताएका छन् ।
सुरुङ् मार्ग ब्रेक थ्रु भएपछि लाइनिङ् र विद्युतीकरणको काम हुनेछ । यस्तै सुरुङ् मार्गको पाल्पातर्फ र बुटवलतर्फ पनि सडक फराकिलो बनाएर रक नेट र रकसेड प्रविधिबाट भिर क्षेत्रमा सडकको सुरक्षा कार्य हुने आयोजनाको कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्ग बनेको ५० वर्षपछि यही मार्गको जोखिम मानिएको पाल्पाको तिनाउ–३, स्थित सिद्धबाबा क्षेत्रमा सुरुङ् मार्ग बनाउन सुरु गरिएको हो ।
सिद्धबाबा सुरुङ् मार्ग उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्विनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्य, चिनियाँ राजदुत चेङ सोङ, लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, प्रतिनिधि सभाका सदस्य ठाकुर गैरे, नारायणप्रसाद आचार्य, पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, प्रदेशसभाका सदस्य वीरबहादुर रानालगायतको सहभागिता रहेको थियो । सो अवसरमा तिनाउ गाउँपालिकाको प्रशासनिक भवनको समेत प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभयो ।