निस्दी संचालित छैटौं राष्ट्रपति रनिङ शिल्ड सरस्वती मा.बि लाइ

बोली खबर   १८ माघ २०८१, शुक्रबार १९:००

होम राई मगर
पाल्पा / १८ पौष
निस्दी गाउँपालिका पाल्पामा संचालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धाको कठैडाँडाले हात पारेको छ ।
निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सन्चालन भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सरस्वती माविले ८ स्वर्ण, ४ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी दोस्रो स्थानमा रहेको जनता माध्यमिक विद्यालय निस्दी-५,ढुंगानाबेसी,पाल्पाले ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेका थिए । त्यसैगरी बालहित माध्यमिक विद्यालय निस्दी-२,सहलकोटले २ स्वर्ण, १ रजत र ४ कास्य सहित तेस्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । छात्र ९ र छात्रा ९  विधा गरि जम्मा १८ विधा समाबेश रहेको प्रतियोगितामा निस्दीका १२ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । 
पौष १५ गते देखि सन्चालन भएको प्रतियोगितामा लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच पुरस्कार वितरण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभा सदस्य श्रेष्ठले खेलकुदको माध्यमबाट आफ्नो गाउँ-ठाउँ र रास्ट्रको लागि योगदान पुर्‍याएको चर्चा गर्नुभएको थियो । उहाँले खेलकुदले अनुशासित हुन र सामूहिक कार्य गर्न सिकाएको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि रहनु भएका प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीले विद्यार्थीहरुले खेलकुदका साथसाथै शैक्षिक प्रगतिमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले निस्दी गाउँपालिका राजस्व संकलनमा पाल्पा जिल्लाकै नमुना गाउँपालिका रहेको  बताउनु हुँदै निस्दीको खानी र पर्यटकीय क्षेत्रहरूको संरक्षण र सम्बर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।  

छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको सन्चालन बालमैत्री शाखाका संयोजक कुश्माखर पाण्डेले गर्नुभएको ।