पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको चौथो दिन हजारौंले मेलामा सहभागीता जनाएका छन् । गत मंगलबार देखि आगामी माघ २७ सम्म सञ्चालन हुन भैरहेको मेलामा सुरु शुक्रबार ८ हजार भन्दा बढीले सहभागीता जनाएको रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका मेलामा शुक्रबार ४ हजार पाँच सय ३३ टिकट विक्री भएको थियो । मेलाका स्टल सञ्चालक, साँस्कृतिक झाँकीमा सहभागी समूह, स्वंयम सेवक, संघका सदस्य लगाएतलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएकाले करिब ८ हजार बढीले मेलाको अवलोकन गरेको आँकलन गरिएको रामपुर उद्योग वाणिज्य संघका टिकट छपाइ तथा व्यवस्थापन उपसमिति संयोजक ज्ञानेन्द्र गैरेले बताउनुभयो । मेलामा एक करोड ३५ लाखको कारोबार भएको छ । मेलाको व्यापारिक स्टल, बालउद्यान, साँस्कृतिक कार्यक्रम स्थलमा उल्लेख्य सहभागीता रहेको थियो ।
“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ रामतुलसी माविको खेल मैदानमा भैरहेको मेलामा ४ सय भन्दा बढी व्यापारिक स्टल रहेको छ । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको छ । साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाको स्टल रहेको छ । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री हेलिकप्टर, प्यारागलाईडिङ्ग बाट दृश्य अवलोकन, अण्डर वटर फिस टनेल, क्लव स्तरीय भलिबल प्रतियोगिता, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, , ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।
मेलामा शुक्रबार लोकदोहोरी प्रतियोगिता संगै विभिन्न कलाकारहरु प्रस्तुति रहेको छ । मेलामा उपस्थित दर्शकहरु राष्ट्रिय लोक दोहोरी गायक खुमन अधिकारी, लोकदोहोरी गायक श्याम राना, हुम गैरे, लोकदोहोरी गायिका नविना सुवेदी, सृजना आले र दिलु फगामी मगरको प्रस्तुति संगै रमाएका हुन् ।
कार्यक्रम प्रस्तोतामा जीवन दहाल रहनुहुनेछ । मेलामा कृषि प्रदर्शनीमा कृषकहरुले उत्साजनक सहभागीता जनाएको संयोजक सुर्य प्रसाद रेग्मीले बताउनुभयो । साथै रामपुर नगरपालिका शिक्षा शाखाको शैक्षिक सामग्री प्रदर्शनी पनि भैरहेको छ ।