पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको सातौं दिन पनि दर्शकहरुको घुइँचो रहेको थियो । सोमबार सार्बजनिक बिदा परेकाले दर्शकको घुइँचो बढेको थियो । सात हजार भन्दा बढी दर्शकले टिकट खरिद गरी अवलोकन गरेका छन् ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा गत माघ १५ बाट देखि महोत्सव सञ्चालन भैरहेको छ । सोमबार ७ हजार बढी दर्शक टिकट काटेर मेला स्थलमा प्रवेश गरेको संघले जनाएको छ । विशेष टिकट खरिद गरेका दर्शक, संघका सदस्य, पदाधिकारी, स्वंयसेवक, ८० वर्ष माथिका जेष्ठ नागरिक, स्टल धनी, झाँकीमा सहभागी विभिन्न समूह र पास लिनु भएका व्यक्तित्वहरुको गणना गरिएको छैन ।
टिकट छपाई, विक्री एवं व्यवस्थापन उपसमितिका संयोजक ज्ञानेन्द्र प्रसाद गैरेले दर्शकहरुको भिड भएकाले टिकट विक्री स्टलमा व्यवस्थापनको लागि हम्मे हम्मे परेको बताउनुभयो । एक सय रुपैया र सहुलियतको टिकट विक्री बाट एकै दिन पाँच लाख ८० हजार रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो ।
कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ सुरु भएको मेला स्थल दर्शकहरुले भरिभराउ रहेको थियो । मेलामा ४ सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको छ । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघले जनाएको छ ।
संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको छ । साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाको स्टल रहेको छ । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री हेलिकप्टर, प्यारागलाईडिङ्ग बाट दृश्य अवलोकन, अण्डर वटर फिस टनेल, क्लव स्तरीय भलिबल प्रतियोगिता, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, रामपुर डान्स आईडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ । महोत्सवमा रामपुर महोत्सव कप भलिबल प्रतियोगिता सुरु भएको छ ।
क्लव स्तरीय भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उट्घाटन गर्नु भएको हो । आजको उट्घाटन खेल त्रिभुवन आर्मी क्लव र नेपाल एपीएफ क्लव विच भएको थियो । मेलामा लोक दोहोरी गायक रामजी खाँण, लोकदोहोरी गायिका सुनिता बुढा क्षेत्री, रितु शाही र पप गायिका सृजना खत्रीको बेजोड साँगितिक प्रस्तुति रहेको थियो । कार्यक्रम प्रस्तोतामा लोकदोहोरी गायक नारायण खनाल ’लेकाली’ हुनुहुन्थ्यो ।
मेलामा मंगलबार सर्जक एवं राष्ट्रिय कलाकार दुर्गा रायमाझि, सर्जक एवं लोक दोहोरी गायक शिव हमाल, लोकदोहोरी गायिका ईब्सल सन्ज्याल, गायक रमेशराज भट्टराई, डान्सर सलिना थापाको प्रस्तुति रहने सांस्कृतिक संयोजक दिपक केसीले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालकमा रुपेश कार्की रहनु हुनेछ । भोलि नै लोक दोहोरी प्रतियोगिताको फाईनल हुनेछ । मेला आगामी माघ २७ सम्म सञ्चालन हुनेछ।


