पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु भएको छ । आज मध्यान्ह पाल्पा माथागढी ५ सुर्खाबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढुङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही देवदह २ का ३१ बर्षिय सुनिल गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त टिप्पर सडकबाट अन्दाजी २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिनु भएको हो ।
घटनास्थलमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटि गएको तथा प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको बताउँदै डिएसपी मल्लले सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जानकारी गराउनु भएको छ ।


