
पाल्पा । चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा शनिबार अहिले सम्म कै धेरै दर्शकहरुले उपस्थिति जनाएका छन् ।
जब आफ्नै शैलीमा मञ्चमा गायक तथा मोडल दुर्गेश थापाको इन्ट्री संगै मेला स्थल गुञ्जिएमान भएको थियो । थापाले दुश्मन हेरेको हेर्यै.., हामी पनि पनि नाच्नु पर्छ वीचवीचमा‘.., कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा‘, हेप्पी तिहार‘। गीत र र्यापले दर्शकहरुलाई नचाएका थिए । दर्शकहरुले खच्चा खच भरिएको महोत्सव स्थलमा भिडलाई रोक्न र व्यवस्थापनमा सुरक्षा निकाय र आयोजकलाई हम्मे हम्मे परेको थियो ।
शनिबार विदा संगै चर्चित कलाकारहरु गायक तथा मोडल दुर्गेश थापा, वरिष्ठ लोक दोहोरी गायक बद्री पंगेनी र गायिका भुमिका गिरी प्रस्तुतिले दर्शकहरुको घुँइचो लागेको थियो । साथै क्लव स्तरीय भलिबल प्रतियोगिताको फाइनल र मेलाको अन्तिम दिनको पूर्व सन्ध्या भएकाले पनि दर्शकहरुको घुँइचो लागेको हो । दुर्गेश थापाको प्रस्तुतिमा रमाउनका लागि बालक, युवा देखि पाका पुस्ता सम्म महोत्सव स्थल पुगेका थिए ।
थापाको झण्डै एक घण्टाको प्रस्तुति सकिए संग राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनीले आफ्नो प्रस्तुति राख्नु भएको थियो । पंगेनीले कन्या राशी, बसे है पाले दाई गेट नलाई नलाई‘.., पानी सलल‘, नाचौला झ्याउरेको तालै गीत मार्फत दर्शकलाई छमछमी नचाउनु भएको थियो । साथै शनिबार लोक तथा दोहोरी गायिका भुमिका गिरीले देउरालीमा पर्खि बसे‘।, चोली मैलै भो‘..,तारा संगै जुन‘.., मलाई संधै माया कै पिरलो‘। लगाएतका गीत प्रस्तुत गर्नु भएको थियो ।
मेलामा आज (आइतबार) चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गायक मोहन खड्का, डिप्लव खाती, मोडल तथा डान्सर आस्था न्यौपाने, श्रेया थापा मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक दिपक केसीले जानकारी दिनुभयो ।
मेला स्थलको सांस्कृतिक कार्यक्रम स्थलमा मात्र नभै शनिबार बालउद्यान, विक्री स्टल, होटल तथा बालउद्यानमा दर्शकहरुको अत्याधिक घुँईचो रहेको थियो । रामपुर वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षण गत माघ १५ देखि सुरु भएको मेलामा शनिबार हाल सम्मकै धेरै दर्शकहरुको उपस्थिति भएको हो । रामतुलसी माविको खेल मैदानमा जारी महोत्सवमा शनिबार १९ हजार २० जना दर्शकले टिकट खरिद गरी मेलाको अवलोकन गरेको टिकट छपाई, विक्री एवं व्यवस्थापन उपसमितिका संयोजक ज्ञानेन्द्र प्रसाद गैरेले जानकारी दिनुभयो । विशेष टिकट खरिद गरेका दर्शक, संघका सदस्य, पदाधिकारी, स्वंयसेवक, ८० वर्ष माथिका जेष्ठ नागरिक, स्टल धनी, झाँकीमा सहभागी विभिन्न समूह र पास लिनु भएका व्यक्तित्वहरुको संख्या गणना गरिएको छैन ।
“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ भैरहेको मेलामा चार सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको छ । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।
मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री, अण्डर वटर फिस टनेल, राष्ट्रिय स्तरको क्लवहरुको उपस्थितिमा भलिबल प्रतियोगिता, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।