फाल्गुन ७मा संघीय सांसद गगन कुमार थापा पुर्बखोला आउने

  ६ फाल्गुन २०८१, मंगलवार ११:१६

पाल्पा – नेपाली कांग्रेसका महामन्त्री एवम संघीय सांसद गगन कुमार थापा प्रथम लोकतान्त्रिक महोत्सव मा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वखोला गाउँपालिका आउनुहुने भएको छ । नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिको आयोजनामा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा उक्त महोत्सव हुने भएको हो ।

लोकतन्त्रको सुदृढीकरण, स्थानीयस्तरमा प्रजातान्त्रिक चेतनाको अभिवृद्धि, स्वास्थ्य सचेतना र आर्थिक विकास प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली कांग्रेस पुर्वखाेलाले पहिलो पटक यस्तो महोत्सव आयोजना गरेको हो । महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा स्थानीय उत्पादनको प्रदर्शनी मेला समावेश गरिनेछ । पूर्वखोला गाउँपालिका–हाटबजार मैदान, रिङनेरह, पाल्पामा  हुने छ । महामन्त्री थापाले  वर्तमान राजनीतिक परिस्थिति, लोकतन्त्रको भविष्य तथा पार्टीको रणनीतिबारे चर्चा गर्ने बताइएको छ ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय कलाकारहरूको प्रस्तुति, लोपोन्मुख परम्परागत नृत्य र गीत संगीतकाे प्रस्तुति रहनेछ । यसका साथै, महोत्सवमा सञ्चालन गरिने निशुल्क स्वास्थ्य परीक्षण शिविरले गाउँपालिकाका स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराउने नेपाली काङ्ग्रेस पुर्वखाेला गाउँपालिकाका संयाेजक सन्दिप रानाले जानकारी दिनुभयाे । । स्थानीय उत्पादनको प्रदर्शनी मेलाले किसान, उद्यमी र व्यवसायीहरूलाई आफ्नो उत्पादन प्रदर्शन तथा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नेछ । यसले स्थानीयस्तरमा आर्थिक गतिशीलता बढाउने विश्वास गरिएकाे उहाले बताउनुभयो ।

यता नेपाली काङ्ग्रेस पाल्पाले आइतबार जिल्ला कमिटीकाे बैठक बसि कार्यक्रमलाई भव्य रूपमा मनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शाेभाकर न्याैपानेले बताउनुभयो । नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले महोत्सवलाई ऐतिहासिक बनाउन सबैलाई सहभागी हुन अपिल गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस पुर्वखाेला गाउँपालिकाका सभापति बिष्णु देबी आर्चायले प्रथम लोकतान्त्रिक महोत्सवको सम्पूर्ण तयारी सम्पन्न भइसकेको बताउनुभयो । गगन थापाको सहभागिताले कार्यक्रम अझ ऐतिहासिक र प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयाे । महोत्सवले स्थानीय संस्कृति, परम्परा, र लोकतान्त्रिक मूल्यहरू उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो ।