मित्यालमा सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

बोली खबर   २०८१-११-१०


धनबहादुर ठाडा / फागुन १०
पाल्पा – निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्याल, पाल्पाको सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष सन्तवीर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री सहजकर्ता शेर बहादुर खाम्चाले आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षमा पालिकाबाट २४ वटा योजना प्राप्त भएकोमा १६ वटा योजनाको सम्झौता भएको र ५ वटा योजना सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । साथै कृषि, पशु तथा विभिन्न विषयगत शाखाको अर्धवार्षिक समिक्षा तथा प्रगति प्रतिवेदन समेत सार्वजनिक भएको छ ।

सहभागीले विशेषगरी शैक्षिक गुणस्तर, यातायात, खानेपानी, बिजुली, बजार व्यवस्थापन, बाल विवाह, कबुलियती वन कार्यक्रमसँग सम्बन्धित जिज्ञासा राखेका छन । कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारी, नेपाली कांग्रेसका प्रतिनिधि अलाङ वीर सुनारी, नेकपा एमालेका धन बहादुर खाम्चाले सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।

सहभागीले उठाएका जिज्ञासाको जवाफ वडाका जनप्रतिनिधि, कर्मचारी तथा कार्यक्रमका प्रमुख अतिथि निस्दी गाउँपालिकाका योजना अधिकृत अर्जुन खनालले दिनुभएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार धनबहादुर ठाडाले गर्नुभएको थियो ।