धनबहादुर ठाडा / फागुन ११
पाल्पा – निस्दी गाउँपालिका पाल्पामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा पाल्पा मेट्रोसिटी हस्पिटल प्रालि रामपुरको प्राविधिक सहयोगमा शिविर भएको हो ।
जनता माध्यमिक विद्यालय निस्दी -५, गल्धाको, ढुंगानावेशीमा शनिबार भएको शिविरमा परिवार नियोजन सेवा प्रदान सम्बन्धि परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोग रहेको थियो ।शिविरमा ३७६ जनाको सामान्य स्वास्थ्य जाँच उपचार, २६६ जनाको नसर्ने रोग स्क्रिनिङ साथै ९१ जनाको भिडियो एक्सरे गरिएको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले जानकारी दिनुभएको छ ।
त्यसैगरी मुटुरोग सम्बन्धि ४० जनाको इसीजी सेवा, २५ जनाको फिजियोथेरापी गरिएको थियो । शिविरमा ९१ जना महिलाको पाठेघरको मुखको क्यान्सर भिआईए जाँच गरेकोमा १ जनालाई पोजिटिभ थर्मोकोगुलेशन विधिबाट उपचार गरिएको छ । साथै ६ जनामा आङ खस्ने समस्या, ५ जनाले रिङ प्रेसरी राखेको, २ जनाले आईयुसिडी र २ जनाले इम्पलन्ट सेवा लिएको संयोजक दिशाले बताउनुभएको छ ।
यता नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार भिआईए स्क्रिनिङ तथा नसर्ने रोगहरूको पहिचान सबै वडामा सम्पन्न गरिने बताएको छ । शिविरमा पाल्पा मेट्रोसिती हस्पिटल प्रालि रामपुरका डाक्टर भिमसेन सुनार र निर्देशक मनिषा सेन्चुरी लगायत निस्दीमा कार्यरत स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए । शिविरमा निस्दीका गाउँ – गाउँबाट सेवाग्राहीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।



