निस्दीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धन बहादुर ठाडा   २०८१-११-१२

पाल्पा । निस्दी गाउँपालिका पाल्पाको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।

प्रतिवेदनमा चालु  तर्फ ४० दशमलव ८८ प्रतिशत र पूँजीगत तर्फ १० दशमलव १९ प्रतिशत खर्च भएको उल्लेख  छ । चालू आर्थिक वर्ष   निस्दीमा १ सय ४६ वटा योजना तथा कार्यक्रममा पौष महिनासम्म १७ वटा योजना मात्र सम्पन्न भएको छ । वडा नम्बर ५ गल्धामा सबैभन्दा धेरै ६ वटा योजना सम्पन्न भएको र वडा नम्बर ६ अर्चलेमा कुनै पनि योजना सम्पन्न भएको छैन ।  विगतका वर्षमा झै पालिकाले विभिन्न आयोजनाहरुको अनुगमन, एकीकृत घुम्ती शिविर सञ्चालन, पालिका स्तरीय पकेट बिकास कार्यक्रमलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभएको छ । निस्दीको गौरवको आयोजनाको रूपमा सबै वडा जोडिने गरि केम खाम्चा मार्गको स्तरोन्नति गरिने कार्य भएको प्रतिवेदनमा उल्लेख छ ।

साथै आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष योजना सञ्चालन, स्थानीय कृषि उपज सामग्रीलाई बिक्री वितरणमा सहजता ल्याउन योजना तथा कार्यक्रम सञ्चान गरिएको, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र निरन्तरता दिदै आएको प्रतिवेदनमा रहेको छ । कार्यक्रममा सहभागीले निस्दीमा शैक्षिक गुणस्तर, बाल उद्यान निर्माण, आन्तरिक पर्यटन प्रबर्द्धन, बिजुली, यातायात, खानेपानी, बाल विवाहको समस्या, सुशासन, मानव संशाधन लगायतका विषयमा जिज्ञासा तथा सुझाव  राखेका छन । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझाव दिनुहुने सबैलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा पालिकाले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गरिने बताउनुभएको छ । गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा सहभागीले राखेका जिज्ञासाको जवाफ विषयगत शाखा संयोजक, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले दिनुभएको हो । कार्यक्रमको सहजीकरण पत्रकार नारायण न्यौपाने र विष्णु घिमिरेले गर्नुभएको थियो ।